रोयल इन्फिल्डले ल्यायाे क्लासिक ३५० सीसी गनमेटल ग्रे

नयाँ मोडलमा पुरानो ड्रम ब्रेकलाई हटाएर रियर डिस्क ब्रेक राखिएको छ । प्रिमियम र स्पोर्टी लुक्स भएको यो बाइकमा म्याट फिनिससहितको विशेषता रहेको छ ।

काठमाडौं । विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको लोकप्रिय क्लासिक ३५० सीसीको बीएस फोर गनमेटल ग्रे बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि विवेक अटोमोबाइल्सले बीएस थ्री मोडल नेपाल ल्याइसकेको छ ।

नयाँ मोडलमा पुरानो ड्रम ब्रेकलाई हटाएर रियर डिस्क ब्रेक राखिएको छ । प्रिमियम र स्पोर्टी लुक्स भएको यो बाइकमा म्याट फिनिससहितको विशेषता रहेको छ । यो क्लासिक बाइकमा हेडलाइट क्यासिङ, फ्युल ट्यांक, ड्योल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्जहस्ट फिन्स, स्पिडोमिटर डायल्स, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेमब्ली र हेडलाइट क्याप राखिएको छ ।

यो मोडलमा माइलेजमा सुधार गर्दै ४० किमि प्रतिलिटर पुर्याइएको बताइएको छ । साथै अन्य मोडलहरुमा जस्तो खुल्लामा राख्दा पेट्रोल उडेर जाने समस्या यसमा नभएको र वातावरणमा पर्ने नकारात्मक प्रभाव पनि कम गरिएको कम्पनीले बताएको छ । ३४६ सीसी क्षमता भएको यो बाइकको कुल तौल १९२ केजी छ । यसको म्याक्स पावर १९.८ बीएचपी ५२५० आरपीएम छ ।

विवेक अटोमोबाइल्सले यो नयाँ बाइकलाई आफ्ना १९ ओटै शाखाबाट बिक्री वितरण गर्ने बताएको छ । साथै बाइकलाई असार मसान्तसम्मका लागि पाँच लाख १५ हजार मूल्यमा बिक्री गर्नेछ । कार्यक्रममा कम्पनीका उपाध्यक्ष विवेक दुुगडले आगामी आर्थिक वर्षसम्ममा कम्पनीले चार पाँचओटा शाखा थप विस्तार गर्ने जानकारी दिए । बजेटमा उच्च सिसिका बाइकमा थप कर वृद्धि भएता पनि यो वर्ष चार हजार बाइक विक्री गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए । अघिल्लो वर्षमा रोयल इन्फिल्डको साढे चार हजार बाइकहरु नेपाली बजारमा विक्री भएका थिए ।
कार्यक्रममा उपाध्यक्ष दुगडले अन्य कम्पनीको रणनीतिलाई कटाक्ष गर्नुको सट्टा ग्राहकको रोजाइ, सुविधामै केन्द्रित रहने कम्पनीको रणनीति भएको बताए । रोयल इन्फिल्डले पाँच वर्षदेखि ४० प्रतिशत दरले वृद्धि हासिल गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।

एमभी दुगड गु्रपको विवेक अटोमोबाइल्स रोयल इन्फिल्डका लागि नेपालमा आधिकारिक विक्रेता हो ।