कुलमानको प्रस्ताव : भारतसँग आवश्यकताअनुरुप विद्युत् लेनदेन

वर्षायाममा उत्पादित आवश्यकताभन्दा विद्युत् भारत पठाउने र हिउँदमा आयात गरी विद्युत् अभावलाई कटौती गर्न यो अवधारणा अवलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी भएका बेला भारत निर्यात गर्ने र अभाव भएका बेला आयात गर्ने प्रणाली लागू गर्ने भएको छ । गर्मी वा हिउँद महिनामा विद्युत् उत्पादन क्षमता घट्ने र वर्षायाममा उत्पादन बढ्ने भएपछि यस प्रकारको अवधारणा आएको हो । यस प्रणालीलाई इनर्जी बैङ्किङ सिस्टम भनिएको छ ।

नेपालका धेरैजसो नदीहरु उत्तरदेखि दक्षिणीतर्फ बग्छन् । आयोजनाहरु पनि त्यसअनुरुप नै छन् । हिउँदमा पानीको बहाव घटेर विद्युत् उत्पादन क्षमता घट्ने गर्दछ । त्यस्तै वर्षायाममा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन क्षमता बढ्ने गर्दछ । वर्षायाममा उत्पादित आवश्यकताभन्दा विद्युत् भारत पठाउने र हिउँदमा आयात गरी विद्युत् अभावलाई कटौती गर्न यो अवधारणा अवलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

वर्षायाममा बढी उत्पादित विद्युत् भारतको विहार प्रान्तमा निर्यात गरेर हिउँदमा सोही बराबरको ऊर्जा आयात गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । भारतमा हिउँदमा भन्दा वर्षायाममा विद्युत् माग बढ्ने र हिउँदमा घट्ने गर्दछ । भारत विद्युत्मा पूर्ण निर्भर छैन । किनकि त्यहाँको धेरै माग थर्मल, सोलार र हावाबाट उत्पादित ऊर्जामा निर्भर रहेको छ । तर, नेपालमा भने यस्तो प्रणाली प्रभावकारी देखिँदैन ।

४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोसी आयोजना सञ्चालनमा आएपछि नेपालमा आवश्यकताभन्दा बढी विद्युत् भारततर्फ पठाउन सम्भव देखिएकाले यो प्रक्रिया अगाडि बढेको ऊर्जा मन्त्रालयका सह—सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । उनले नेपाल र भारतका ऊर्जा सचिवहरुको सहमतिमा निर्यात युनिटका आधारमा विद्युत् आयात हुने बताए । ‘तत्काल भारतसँग रेट नेगोसिएसनभन्दा युनिटमा आयात हुन्छ’ उनले भने, ‘त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ विगतमै नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठकमै यस खालको अवधारणा ल्याउने भनिएपनि कार्यान्वय हुन सकेको थिएन ।

अहिले इनर्जी बैङ्किङ प्रणालीलाई लागू गर्ने विषयमा ऊर्जा सचिवस्तरीय बैठक आयोजना गर्ने तयारी गरेको सह–सचिव घिमिरेले जानकारी दिए ।