महासङ्घ र अमेरिकी दूतावासद्वारा स्थानीय पदाधिकारीलाई सङ्घीय सुशासन प्रशिक्षण

प्रदेश ३ का स्थानीय सरकारका करिब ५० जना पदाधिकारीको सहभागिता रहेको तालिमको डिजाइन अमेरिकास्थित मेरिल्यान्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरिल्यान्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालिम दिनेछन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र अमेरिकी राजदूतावासले संयुक्तरुपमा स्थानीय तहका पदाधिकारीका लागि सङ्घीय सुशासनसम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रम बिहीबारदेखि काठमाडौंमा सुरु गरेको छ । महासङ्घ र दूतावासले प्रदेश ३ का पदाधिकारीका लागि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासङ्घकी अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । मन्त्री पण्डितले विकासप्रति जनताका इच्छा आकाङ्क्षा निकै धेरै भएका र तिनलाई पूरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतासँग जोडिएर प्रभावकारी ढङ्गबाट कार्य सम्पादन गर्न आग्रह गरे । मन्त्री पण्डितले निजी क्षेत्रसँगको सहकार्यमा पनि जोड दिए ।

महासङ्घकी अध्यक्ष राणाले स्थानीय सरकारसँग निजी क्षेत्र समन्वयात्मक ढङ्गबाट अगाडि बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाइन् । विगतमा स्थानीय जनप्रतिनिधिसमेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीसँग जोडिएर कार्य गरेको स्मरण गर्नै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताइन् । नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्नेमा अध्यक्ष राणाको जोड थियो ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले स्थानीय सरकारको प्रभावकारी सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घसँगको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो सुरुआत प्रदेश ३ बाट गरिएको जानकारी गराए ।

सङ्घीय सुशासनसम्बन्धी यो तालिम स्थानीय सरकारका पदाधिकारीका लागि दैनिक सरकार सञ्चालनमा महत्त्वपूर्ण र सहयोगी हुने राजदूत बेरीले विश्वास प्रकट गरे । प्रदेश ३ का स्थानीय सरकारका करिब ५० जना पदाधिकारीको सहभागिता रहेको तालिमको डिजाइन अमेरिकास्थित मेरिल्यान्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरिल्यान्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालिम दिनेछन् ।

कार्यक्रममा महासङ्घको प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासङ्घका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, महासङ्घ सचिवालय र अमेरिकी राजदूतावासका वरिष्ठ कर्मचारीको उपस्थिति थियो ।