घटेन वैदेशिक रोजगारीमा ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी बढी

चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगार विभागमा संस्थागत र व्यक्तिगत गरी एक हजार २ सय १४ उजुरी परेका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न खोजिरहे पनि दलाल, म्यानपावर र एजेन्सीले विदेश पठाउने नाममा ठगीमा पर्नेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारबाही भएको छैन । विभागले कुनै कारबाही नगर्दा संस्थागत तथा व्यक्तिगत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । विभागका अनुसार माघसम्म संस्थागत ठगीका उजुरीभन्दा व्यक्तिगत ठगीका उजुरी विभागमा धेरै छन् ।

चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगार विभागमा संस्थागत र व्यक्तिगत गरी एक हजार २ सय १४ उजुरी परेका छन् । यसमा संस्थागततर्फ ५ सय ८६ र व्यक्तिगतमा ६ सय २८ उजरी विभागमा दर्ता भएको तथ्याङ्कले देखाएको छ । माघ महिनामा मात्र १ सय ४० का दरले उजुरी बढेका छन् ।
गत महिनाको तुलनामा यस महिनामा संस्थागत उजुरीभन्दा व्यक्तिगत तर्फका उजुरी बढी छन् । पुसमा १ हजार ७६ उजुरी परेका थिए भने माघ महिनामा उजुरीको सङ्ख्या १ सय ३८ ले बढेर १ हजार २ सय १४ पुगेका छन् ।

रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो डाटामा जम्मा ५७ करोड ९४ लाख ३९ हजार ९ सय ४३ दाबी रकममध्ये व्यक्तिगत उजुरीमा ४२ करोड ३८ लाख ८६ हजार २ सय १८ रकम दाबी गरिएको छ भने संस्थागत ठगीतर्फ १५ करोड ५५ लाख ५३ हजार ७ सय २५ रुपैयाँ रकम दाबी गरिएको छ ।
वैदेशिक रोजगार ठगी उजुरीमा गत महिनाको तुलनामा माघमा २० ओटा व्यक्तिगत मुद्दा अदालतमा बढी दायर भएका छन् । ठगी मुद्दा मिलाउने (फरफारक)तर्फ संस्थागतको बढी छ । विभागका अनुसार व्यक्तिगततर्फ १ सय २३ उजुरीलाई फरफारक गरिएको छ । भने संस्थागततर्फ ६ सय १९ उजुरीलाई फरफारक गरिएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी अदालतमा व्यक्तिगत १८ करोड ३७ लाख १२ हजार ४ सय ६५ बिगो दाबी मुद्दामा कायम रहेका छन् । व्यक्तिगतका १ सय ४३ उजुरी अदालतमा मुद्दा दायर गरिएको छ भने संस्थागततर्फ कुनै पनि म्यानपावरविरुद्ध मुद्दा दायर गरिएको छैन । माघ महिना सम्म संस्थागततर्फ विभागबाट निर्णय भएको जरिवाना रकम भने २३ लाख ५० हजार रुपैयाँ छ ।