आईएमई लिमिटेड १९औं वर्षमा : रक्तदान कार्यक्रमको आयोजना

१९औं वार्षिकोत्सवका अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्र, नियामक निकाय तथा शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित आभार प्रकट गरेका छन् ।

काठमाडौं । नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई बुधबारदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ मा आईएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट सुरु गरेको थियो ।

‘१९औं वार्षिकोत्सव सशक्तीकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केही न केही सामाजिक कार्य गर्ने परम्पराअनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित कुल ७० जना कर्मचारीले रक्तदान गरेका छन् ।

१९औं वार्षिकोत्सवका अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्र, नियामक निकाय तथा शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित आभार प्रकट गरेका छन् ।

‘हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरूबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनका रुपमा लिएका छौं । सानो आकारबाट सुरु भएको आईएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आईएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो । यसको श्रेय तपाईंहरू सबैसँग बाँड्न पाउँदा हामीलाई निकै खुसी लागेको छ’ आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले २ सय १ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १० हजार सबएजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले पठाएको रकम विभिन्न भूगोलमा पुर्याउँदै आएको छ ।