१३ लाखभन्दा बढी घरपरिवार वैकल्पिक ऊर्जाको पहुँचमा

सन् २०२२ भित्र नेपाललाई धूवाँमुक्त र २०३० भित्र दिगो ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

मुलुकमा १३ लाखभन्दा बढी घरमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै आएको छ । पछिल्लो समय मुलुकका दुर्गम र विद्युत् विस्तार नभएका क्षेत्रमा यसको प्रयोग बढ्दै जान थालेको हो ।

विद्युत् विस्तार हुन नसकेका पहाडी भेगमा सोलार, थर्मल, ग्यास प्लान्टजस्ता वैकल्पिक ऊर्जाको प्रयोग हुँदै आएको छ । नेपालमा वैकल्पिक ऊर्जाको पहुँच १७ प्रतिशत जनतामा पुगेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ ।

नवीकरणीय ऊर्जाका रुपमा रहेको विद्युत्मा कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढीको पहुँच छ । वैकल्पिक ऊर्जाको क्षेत्रमा बर्सेनि लगानी बढेको छ । पहाडी र भौगोलिक रुपले कठिनाइ भएर विद्युत् विस्तार नभएका क्षेत्रमा अहिले वैकल्पिक ऊर्जाकै प्रयोग भइरहेको छ । निजीक्षेत्रकै लगानीमा साना तथा लघु जलविद्युत्देखि सोलार, ग्यास निर्माण भइरहेका छन् ।

मुलुकका दूरदराजका गाउँमा छरिएर रहेका बस्तीमा केन्द्रीय लाइन विस्तार गर्न गाह्रो, खर्चिलो, लगानीको प्रतिफल नआउने भएकाले वैकल्पिक ऊर्जा प्रणाली प्रभावकारी रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । ‘दुर्गम गाउँमा केन्द्रीय विद्युत् विस्तार हुन सकेको छैन । त्यस्ता क्षेत्रमा वैकल्पिक ऊर्जा प्रभावकारी छ,’ उनले भने, ‘अहिले झन्डै १७ प्रतिशत जनसङ्ख्या वैकल्पिक ऊर्जा प्रयोग गर्छन् ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार चार लाख परिवारमा घरायसी बायोग्यास र ९० ठूला घरायसी बायोग्यास छन् । त्यस्तै १२ सय वटा आयोजनाबाट ३० मेगावाट लघुजलविद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ ।

साढे १३ लाख घरपरिवारमा वैकल्पिक ऊर्जाको प्रयोग भएको केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिए । वैकल्पिक ऊर्जासम्बन्धी काम स्थानीय तहले गर्ने उनले बताए । ‘स्थानीय शासन ऐनमा भएको वैकल्पिक ऊर्जाको अधिकार अब स्थानीय तहमा गएको छ,’ उनले भने, ‘केन्द्रले वैकल्पिक ऊर्जासम्बन्धी ऐन, नियम र कार्यविधिभित्र रही काम गर्छ ।’ गत वर्ष वैकल्पिक ऊर्जाको क्षेत्रमा तीन अर्ब ९० करोड रुपैयाँ पुँजी लगानी भएको उनको भनाइ छ ।

केन्द्रले सन् २०२२ भित्र नेपाललाई धूवाँमुक्त र २०३० भित्र दिगो ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।