कमिसन बढाउन ग्यास उद्योगीको मन्त्रीसमक्ष ‘लविङ’

विगत पाँच वर्षदेखि ग्यासको कमिसन नबढेकाले तत्काल कमिसन बढाउनुपर्ने एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । ‘पाँच वर्षको अवधिमा उद्योगको खर्च दोब्बरभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘तर, सरकारले अहिलेसम्म कमिसन बढाएको छैन् ।’

नेपाल आयल निगमले उपलब्ध गराएको कमिसनले उद्योग सञ्चालन गर्नै नसक्ने भन्दै ग्यास उद्योगीले मन्त्रीसमक्ष कमिसन बढाउन लविङ सुरु गरेका छन् ।

लामो समयदेखि कमिसन नबढेको र हाल पाइरकेको कमिसनले उद्योग सञ्चालन गर्न कठीन भएको भन्दै व्यवसायी मन्त्रीसमक्ष पुगेका हुन् । व्यवसायीले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई भेटेर ग्यासमा कमिसन नबढाए उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् ।

विगत पाँच वर्षदेखि ग्यासको कमिसन नबढेकाले तत्काल कमिसन बढाउनुपर्ने एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । ‘पाँच वर्षको अवधिमा उद्योगको खर्च दोब्बरभन्दा बढी भइसकेको छ,’ उनले भने, ‘तर, सरकारले अहिलेसम्म कमिसन बढाएको छैन् ।’

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले उद्योगीलाई तत्काल कमिसन बढाउन आवश्यक नरहेको बताए । ‘उनीहरुलाई निगमले पर्याप्त मात्रामा कमिसन बढाइसकेको छ,’ उनले भने, ‘तर, ग्यास विक्रेताले पाउँदै आएको कमिसन थोरै भएको हो । त्यस बारेमा निगमले सोचिरहेको छ ।’

ग्यास विक्रेता महासङ्घले कमिसन बढउन माग गर्न थालेपछि ग्यास उद्योगीले पनि कमिसन बढाउन माग गरेको हो । निगमले प्रतिसिलिन्डर २ सय ७९ रुपैयाँ कमिसन दिँदै आएको छ ।

सङ्घका निवर्तमान अध्यक्ष शिव घिमिरेले कमिसन नबढाए, व्यवसाय बन्द गर्ने बताए । ‘हरेक कुराको मूल्य बढिरहेको छ । तर, सरकारले उपलब्ध गराउने कमिसन अहिलेसम्म पुनरावलोकन हुँदैन्,’ उनले भने, ‘अब पनि कमिसन बढेन भने, व्यवसाय चलाउँदैनौ ।’