ठेकेदारको लापरबाहीले सिङ्गटी सवस्टेशन निर्माणमा ढिलाई

भारतीय कम्पनी अरावली इन्फ्रा पावरले प्रशारण लाइनको जिम्मा पाएको भए पनि ठेकेदारको लापरबाही, भारतीय नाकाबन्दी र भूकम्पका कारण निर्माणमा ढिलाई भएको हाे ।

दोलखामा निर्माणाधीन सिङ्गटी सवस्टेसन निर्माणको काममा ढिलाई भएको छ । भारतीय ठेकेदार कम्पनीले जिम्मा लिएको १ लाख ३२ हजार केभी क्षमता उक्त सव—स्टेशन निर्माणको काम पूरा हुन नसकेको हो ।

सव—स्टेसन निर्माणमा ढिलाई हुँदा सिङ्गटी—लामोसाँघु प्रशारण लाईन निर्माणको काम रोकिएको छ । वि.सं २०६७ मा निर्माण सुरु गरिएको प्रशारण लाइनको ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

भारतीय कम्पनी अरावली इन्फ्रा पावरले प्रशारण लाइनको जिम्मा पाएको भए पनि ठेकेदारको लापरबाही, भारतीय नाकाबन्दी र भूकम्पका कारण निर्माणमा ढिलाई भएको आयोजनाका प्रमुख राजेन्द्र ढुङ्गेलले बताए ।

निर्माणाधीन ४० मेगावाटको खानीखोला–१, २५ मेगावाटको सिङ्गटी, ११ मेगावाटको तल्लो खारेखोला, २४.१ मेगावाटको खारेखोलाको विद्युत सिङ्गटी सव—स्टेशनमा जोडिने छ ।

प्राधिकरणले ठेकेदारलाई निर्माणका लागि चौथो पटक थपिएको समय २०७५ जेठमा काम पूरा गर्नुपर्छ । तर, उक्त समयमा पनि प्रसारण लाइनका काम सम्पन्न हुने सङ्केत देखिदैन ।

२०६९ देखि २०७३ चैतसम्म आर्थिक सङ्कटको कारण देखाउँदै ठेकेदारले पूर्ण रुपमा निर्माण रोक्यो । यसबीचमा प्राधिकरणले ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार नियुक्त गर्ने तयारी थालेको थियो ।

नयाँ ठेक्कामा जाँदा लामो समय लाग्ने हुँदा थप ढिलो हुने कारण देखाउँदै त्यस क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्ने निजी प्रवद्र्धकले पूरानै ठेक्कालाई निरन्तरता दिन आग्रह गरेका थिए ।
प्रशारण लाइन निर्माणका लागि कुल लागत ४२ अर्ब लाग्ने अनुमान गरिएको छ ।