अप्पर तामाकोसी आयोजनाको २ अर्ब ६४ करोडको आईपीओ निष्कासन हुँदै

आयोजना प्रभावित क्षेत्र दोलखाबासीका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत गरी २ अर्ब ६४ करोड रुपैयाँको सेयर निष्कासनको तयारी रहेको आयोजनाले जनाएको छ ।

दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको इनिसियल पब्लिक अफरिङ (आईपीओ) निष्कासन हुने भएको छ । आयोजना प्रभावित क्षेत्र दोलखाबासीका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत गरी २ अर्ब ६४ करोड रुपैयाँको सेयर निष्कासनको तयारी रहेको आयोजनाले जनाएको छ ।

अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनका आवेदन दिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘पहिलो चरणमा आयोजना प्रभावित दोलखाबासीका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशत आईपीओ निष्कासन गर्दैछौं’ उनले भने, ‘आगामी चैत्र तेस्रो सातासम्म निष्कासनको तयारी गरेका छौँ ।’ हुनत अझैसम्म नेपाल धितो पत्र बोर्डबाट सेयर निष्कासनका स्वीकृति भने पाइसकेको छैन ।

दोलखाबासीका लागि १ अर्ब ५ करोड ९० लाख रुपैँया बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन हुनेछ । त्यस्तै बाँकी १५ प्रतिशत सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई प्रबन्धक तोकिसकेको छ । कुल ३५ अर्ब २९ करोड लागतमा बन्ने आयोजनाको लागत स्टिमेट बढ्ने देखिएको छ । पूर्वनिर्धारित लागतभन्दा थप ११ अर्ब बढेर कुल ४६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।

स्वदेशी लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम तीव्र रुपमा अगाडि बढेको न्यौपानैले बताए । २०७५ माघसम्म विद्युत् उत्पादन सुरु गर्ने गरी काम अगाडि बढेको उनले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको झन्डै ९५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।