घट्यो तरकारीको मूल्य

बजारमा धेरै खपत हुने सुकेको प्याज पनि घटेको छ ।

गत माघको तुलनामा फागुन महिनामा तरकारीको भाउ क्रमिक रुपमा घटेको छ । हाल बजारमा तरकारीको भाउ २ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । बजारमा धेरै खपत हुने सुकेको प्याज पनि घटेको छ । गत महिना प्रति केजी ५४ रुपैयाँको दरले बिक्री भएको प्याज यस महिना केजीमा १५ रुपैैयाँले घटेर हाल केजीको ३९ रुपैयाँमा आएको छ ।

समितिका अनुसार माघ महिनामा गाजर प्रति केजी ३८ रुपैयाँ थियो भने फागुनमा २८ मा ओर्लिएको छ । त्यसैगरी बन्दा, स्थानीय काउली र तराईको काउलीको मूल्य १४ देखि २० रुपैयाँ सम्म घटेर क्रमश १९, २९ र २२ रुपैयाँमा बिक्री भैरहेको छ । यसभन्दा अघि ती सब्जीको मूल्य क्रमशः ३३, ४२ र ४८ रुपैयाँ थियो ।

त्यस्तै फागुन महिनामा मटरकोसा, लामो, डल्लो भन्टा, घिउ सिमी, लौका लगाएतका तरकारीको मूल्य पनि घटेका छन् । गत महिनाको तुलनामा फागुन उपत्यकाका तरकारी उपभोक्ताका लागि पनि सहज भएको छ । समितिका अनुसार गत महिना लाम्चो भन्टा, डल्लो भन्टा र मटरकोसाको मूल्य क्रमशः ५२, ५२, र ६२ रुपैयाँ थियो भने यस महिनामा लामो र डल्लो भन्टा दुवैको मूल्य प्रति केजी ४८ रुपैयाँ र मोटरकोसा ५२ रुपैयाँमा झरेको छ ।

 

अन्य तरकारीको मूल्य भने सामान्य छ । अन्य तरकारीमा पालुङ्गो, तोरी, चमसुर, मेथी लगाएतका साग प्रतिकेजी ४३, स्कुस ३८, बरेला ७५ र हरियो धनियाँ प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भएको समितिले जानकारी दिएको छ ।