यूएई जाने कामदारको पुलिस रिपोर्ट प्रमाणीकरणकाे जिम्मा ट्राभल एजेन्सीलाई

दूतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभल्सलाई कामदारसँग रिपोर्ट लिएर दूतावासमा प्रमाणीकरण गर्न आउनका लागि जिम्मा दिएको हो ।

कामका लागि यूएई जान दूतावासमा उपस्थित भएर पुलिस रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने बाध्यता अहिलेलाई हटेको छ । दैनिक एक हजार कामदार दूतावास अगाडि लाइन बस्दा कामदारलाई समस्या भएको भन्दै प्रमाणीकरण गराउन दूतावासले दुई ट्राभल एजेन्सीलाई जिम्मा दिएको छ ।

दूतावासले याक्का ट्राभल एण्ड टुर्स र सिटी एक्सप्रेस ट्राभल्सलाई कामदारसँग रिपोर्ट लिएर दूतावासमा प्रमाणीकरण गर्न आउनका लागि जिम्मा दिएको हो ।

रोजगारीका लागि यूएई जाने कामदारलाई अनिवार्य पुलिस रिपोर्ट र त्यो रिपोर्ट दूतावासमार्फत कामदार स्वयम् उपस्थित भई प्रमाणीकरण गर्दा दूतावास अगाडि लामो भीड लागेको र त्यस भीडले ट्राफिक व्यवस्थापनसमेत प्रभावित हुँदै आएको थियो ।
यूएई सरकारले फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि यूएई आउने कामदारले अनिवार्य रुपमा आचरण तथा चालचलनको प्रमाणपत्र पेस गर्नुपर्ने नियम सुरु गरेको थियो । दैनिक ५ सयभन्दा बढी कामदारको प्रमाणीकरण मात्र हुने दूतावासमा २ हजारबढीको लाइन हुन थालेपछि यूएई जाने कामदारलाई समस्या भएको थियो ।

दूतावासले ४३ सय रुपैयाँ लिएर कामदारको पुलिस रिपोर्ट प्रमाणीकरण गर्दै आइरहेको थियो । अब यसमा सय रुपैयाँ अतिरिक्त शुल्क लाग्ने भएको छ ।

सिटी एक्सप्रेस ट्राभल्सका सिद्धार्थ थापाले कामदारलाई सजिलो बनाउनकै लागि दूतावासले जिम्मा दिएको बताए । ‘कामदारसँग रिपोर्ट लिएर दूतावासमा प्रमाणीकरण गरेपछि पुनः कामदारलाई नै दिन हामीले सेवाशुल्क वापत जम्मा सय रुपैयाँ लिएका छौं,’ उनले भने ।

यूएईले भिजिट भिसाका लागि भने नयाँ नियम लागू गरेको छैन । यूएईमा करिब दुई लाख ५० हजार नेपाली कामदार छन् । वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारसँग दूतावासले प्रमाणीकरणको नाममा आर्थिक भार पारेको भन्दै विरोध गर्दै आइरहेको छ ।