पहिलो किस्ता लिएर घर नबनाउनेलाई कारबाही गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार पहिलो किस्ता बापतको रकम लिइसकेका लाभग्राहीहरुले दोस्रो किस्ताको समयसीमाभित्र आवास निर्माणको जग नबसाले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने घोषणा गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए ।

पहिलो किस्ता पाएर पनि आवास निर्माण नबनाउने भूकम्पपीडितलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयअनुसार पहिलो किस्ता बापतको रकम लिइसकेका लाभग्राहीहरुले दोस्रो किस्ताको समयसीमाभित्र आवास निर्माणको जग नबसाले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने घोषणा गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । उनले कानुनी विषय भएकाले पनि मन्त्रिपरिषदको निर्णय सबैले पालना गर्न आग्रह गरे । ‘पहिलो किस्ता लगेका लाभग्राहीहरुले आवास निर्माणका लागि जग बसाल्नुपर्ने समय चैत मसान्तसम्म हो ।’ उनले भने, ‘अटेर गरेर घर नबनाउनेले किस्ताबापत लिएको रकम फिर्ता गर्नुपर्छ ।’ यही चैत मसान्तसम्म दोस्रो किस्ता लिने समयावधि हो ।

उनले पहिलो किस्ता लगेर पनि घर बनाउन नसकेका लाभग्राहीले कारणसहित निवेदन बुझाउन आग्रह गरे । ‘घर बनाउन प्राधिकरणले सबै व्यक्तिलाई सहयोग गर्न तयार छ’, उनले भने, ‘कुनै कारणबश घर बनाउन नसकेका लाभग्राहीले स्पष्ट कारण खुलाउनुपर्छ ।’

प्राधिकरणले हालसम्म ६ लाख ८२ हजार ९ सय ७३ प्रत्येक लाभग्राहीलाई पहिलो किस्ता बापतको ५० हजार रुपैँया वितरण गरिसकेको छ । छ लाख ९३ हजार ७ सय २ लाभग्राहीको अनुदान सम्झौता भइसकेकोमा २ लाख २७ हजार ९२ लाभग्राहीले दोस्रो किस्ता र ५३ हजार ५ सय १८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम पाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म १ लाखभन्दा बढी आवास निर्माण भइसकेको र साढे ३ लाख आवास निर्माण भइरहेको प्राधिकरणले दाबी गरेको छ । कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सूचीमा परेका छन् ।

दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने बढे
प्राधिकरणले दोस्रो किस्ता लिने समय सीमा तोकेसँगै भुक्तानीका लागि निवेदन दिनेको सङ्ख्या बढ्दै जान थालेको छ । हालसम्म ३ लाख १ हजारभन्दा बढीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । त्यस्तै तेस्रो किस्ताका लागि ७८ हजार २ सय १ जनाले निवेदन दिएका छन् ।