१७ वर्षदेखि अलपत्र बागलुङ बसपार्क निर्माणले पूर्णता पाउँदै

बागलुुङ नगरपालिकाभित्र व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी र यात्रुलाई समस्या हुनुका साथै सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

बागलुङमा विगत १७ वर्षदेखि अलपत्र रहेको बागलुङ बसपार्क निर्माणले पूर्णता पाउने भएको छ । शुक्रबार बागलुङ नगरपालिकाका तर्फबाट नगरप्रमुख जनकराज पौडेलले नगर विकास कोषसँग एक वर्षभित्र बसपार्क निर्माण सम्पन्न गर्ने गरी अन्तिम सहमति हस्ताक्षर गरेका छन् ।
अनुदान र ऋण सम्झौता गरी झन्डै सवा १० करोडको लागतमा आधुनिक बसपार्क बन्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘नेपाल सरकार र नगर विकास कोषको सहयोगमा बागलुङ नगरपालिकाले आधुनिक बसपार्क निर्माणको प्रयासस्वरुप अन्तिम हस्ताक्षर गरेको छ,’ उनले भने, ‘आगामी एक वर्षभित्र बसपार्क निर्माणको काम सक्ने गरी सहमति भएको छ ।’ उनले एक महिनाभित्र लागि टेन्डर आह्वान गरिने र निर्माण प्रक्रिया अगाडि बढाइने बताए ।

बागलुङ बजारको उपल्लाचौरमा १८ रोपनी क्षेत्रफलमा आधुनिक बसपार्क निर्माण हुने छ । जिल्लामा दुई ठूला राष्ट्रिय गौरवका सडक आयोजनाहरुको निर्माणसँगै बागलुङ बजारमा सवारी चाप पनि बढ्दै गएको छ । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै सवारी चाप बढ्ने देखिएकाले बागलुङ बजारमा बसपार्क बनाउनुपर्ने भनेर बानपा–४ दावगरामा ५२ जनाको निजी खेतमा बसपार्क निर्माण गर्ने योजना बनाइएको थियो ।

स्थानीय बासिन्दाले नगरपालिकालाई दिएको जग्गामध्ये ५० प्रतिशत जग्गा बसपार्कको काम भइसकेपछि विकसित घडेरी बनाएर जग्गादातालाई फिर्ता गर्नुपर्ने सहमति भएको थियो । नगरपालिकाले २०५९ भदौमा जग्गा प्राप्ति गर्ने जग्गादाताको सहमतिअनुसार जग्गादाताले २०७१ माघमा साढे १७ रोपनी जग्गा नगरपालिकाको नाममा पास गरिसकेका छन् । तर, बागलुङ नगरपालिकाको बेवास्ताका कारण बसपार्क निर्माण कार्यले गति लिन सकेन ।

१६ वर्ष बितिसक्दासमेत बागलुङ बसपार्क बन्न नसक्दा निःशुल्क जग्गा प्रदान गर्ने स्थानीयहरु आक्रोशितसमेत हुन थालेका छन् । बागलुङ नगरपालिका क्षेत्रभित्र बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन समिति र नगरपालिका कार्यालयबीच भएको १२ बुँदे लिखित सम्झौता कार्यान्वयनमा नआएको भन्दै जग्गाको दुरुपयोग भएको बताएका छन् ।

बसपार्क नहुँदा दुर्घटनाको भय

बागलुुङ नगरपालिकाभित्र व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी र यात्रुलाई समस्या हुनुका साथै सवारी दुर्घटनाको जोखिम पनि बढेर गएको समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । ‘बागलुङ बजारमा सवारी चाप बढ्दै गएका छन् । व्यवस्थित बसपार्कको अभावले सवारी पार्किङ गर्ने ठाउँ छैन । साँघुरा सडकका कारण सवारी दुर्घटना जोखिम बढेको छ,’ राजभण्डारीले भने । बजार क्षेत्रका सडकहरु एक त साँघुरो घुम्ती र जेब्रा क्रसिङ नहुँदा सवारी चापसँगै दुर्घटना हुने सम्भावना बढेको स्थानीय राजेन्द्र आचार्यले बताए ।
चालू आव २०७४/०७५ मा बागलुङ नगरपालिकाले बसपार्क व्यवस्थापनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।