बिमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्नुपर्नेमा जोड दिइएको छ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकुस्थित अम्बे कम्पलेक्समा सञ्चालनमा ल्याएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले उक्त शाखाको उद्घाटन गरे । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यापारीलयागत विभिन्न बैङ्क, वित्तीय संस्था तथा बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका प्रमुख तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा बिमा समितिका अध्यक्ष चापागाईंले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, सञ्चालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए । साथै बिमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाए ।
कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष ढकालले बिमाक्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीको थप शाखासहित ३३ ओटा शाखा तथा उपशाखा १० ओटा सेवा काउण्टर बाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।