काबेली प्रसारण लाइन निर्माणमा सुस्तता

९० किलोमिटर उक्त प्रसारण लाइन झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म निर्माण हुनुपर्छ ।

विगत १० वर्षदेखि निर्माण सुरु भएको काबेली प्रसारण लाईन निर्माणमा ढिलाइ भएको छ । विसं २०६३/०६४ मा निर्माण सुरु भएको प्रसारण लाइन अझैसम्म बन्न सकेको छैन ।

भूकम्प तथा नाकाबन्दीका कारण निर्माण कार्य थप ४ वर्ष पछाडि घकेलिएको छ । ९० किलोमिटर उक्त प्रसारण लाइन झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म निर्माण हुनुपर्छ । ३ चरणमा बाँडेर निर्माण थालिएको प्रसारण लाइन गोदक—दमक पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । दोस्रो र तेस्रो खण्ड रहेको इलाम र पाँचथरमा निर्माणको काम बाँकी छ । चारओटा सबस्टेशन निर्माण भैसकेका छन् । उक्त खण्डमा झन्डै ३३ ओटा टावर निर्माण गर्न बाँकी छ । स्थानीयको मुआब्जा विवादले टावर निर्माणमा समस्या देखिएको हो ।

विश्व बैङ्कको लगानीमा निर्माणाधीन उक्त प्रसारण लाइन आगामी बैशाखसम्म सक्ने नयाँ कार्यतालिका बनाइएको छ । निर्माण समयमै सम्पन्न गर्ने गरी काम भइरहेको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए । निर्माणमा ठेकेदारको मनोमानी, मुआब्जा विवाद, स्थानीय प्रशासन, जनप्रतिनिधिबीच समन्वयन नहुँदा प्रसारण लाइन निर्माण प्रक्रियामा बाधा सिर्जना भएको द्विवेदीले बताए । उनले भने, ‘अहिले भने त्यो समस्या हटेको छ । नयाँ कार्यतालिकाअनुसार बैशाख १० सम्ममा निर्माण सम्पन्न हुन्छ ।’

बैशाखभित्र प्रसारण लाइन निर्माण नभए २५ मेगावाट क्षमताको काबेली बी—१ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत खेर जाने देखिएको छ । त्यस्तै साढे २२ मेगावाटको तल्लो हेवाखोला, १० मेगावाटको रैराङ जलविद्युत् आयोजना निर्माणको झन्डै अन्तिम चरणमा छन् । सञ्चालनमा रहेको १४ मेगावाटको हेवा माथिल्लो हेवाखोला प्रसारण लाइन नबन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

केही दिन अगाडि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणका कर्मचारीहरुले प्रसारण लाइन निर्माणक्षेत्रको अनुगमन गरेका थिए । सो अवसरमा घिसिङले बैशाख १० भित्र प्रसारण लाइन निर्माण गर्न निर्देशन दिएका थिए । उनले स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय व्यक्तिहरुसँगको अन्तक्र्रियामा जसरी पनि निर्धारित समयभित्र प्रसारण लाइन बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
पूर्वाञ्चलमा निर्माणाधीन प्रसारण लाइन यस क्षेत्रको महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो ।