जलविद्युत् आयोजनामा सञ्चयकर्ताको नाफाबाट २६ अर्ब लगानी

लगानी अभावले जलविद्युत् उत्पादन गर्न समस्या भइरहेका बेला कर्मचारी सञ्चय कोषको नाफाबाट हालसम्म २६ अर्ब रुपैयाँ लगानी भएको छ । साना, मझौला तथा ठूला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापनमा कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताको नाफाबाट बर्षेनी लगानी बढ्दै गइरहेको उर्जा विज्ञहरु बताउँछन ।

सञ्चयकर्ताको बार्षिक नाफा कोषबाट निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजनामा सेयर लगानी भएको हो । जलविद्युत् आयोजना निर्माणका क्षेत्रमा झन्डै २६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएकोमा हालसम्म झन्डै २२ अर्ब रुपैयाँ भन्दा लगानी भइसकेको कर्मचारी सञ्चय कोषका प्रवक्ता अर्जुन कुमार गौतमले जानकारी दिए ।

उनले कर्मचारीको सञ्चयकोषबाट बाँडफाँड गरिएको नाफाबाट बार्षिक लगानी गरेको बताए । ‘बढ्दो लोडसेडिङलाई कम गरी आर्थिक समृद्धिको विकल्प उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने देख्यौं’ उनले भने, ‘कर्मचारी सञ्चकर्ताको बचतको नाफाबाट उर्जा क्षेत्रमा लगानी भएको छ ।’

प्रवक्ता गौतमका अनुसार माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कुल लगानीको २४ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ लगानी भइसकेको छ । त्यस्तै रसुवागढी, सान्जेन र मध्यभोटेकोशी आयोजनामा कुल १६ अर्ब रुपैयाँ लगानी भएको उनले बताए । स्वदेशी लगानीमा बन्न लागेको दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीपछि कोषले बेतन कर्णाली जलविद्युत् आयोजनामा ३ अर्ब रुपैयाँ लगानी भएको छ । कोषले आयोजनामा २४ प्रतिशत स्वामित्व रहने गरी वित्तीय व्यवस्थापन गरेको हो । अहिले ६ सय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ ।

उर्जा क्षेत्रमा सरकारले सञ्चयकोषलाई लगानी गर्न आग्रह गरेको र कोषको भूमिका महत्वपूर्ण रहेको उर्जा सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । उनले उर्जा क्षेत्रमा लगानी बढाउन सवै क्षेत्रसँग सहकार्य गर्ने बताए । कोषले यसअगाडी नै सञ्चयकर्ताको बार्षिक रुपमा वितरण गर्दै आएको कुल नाफाबाट प्रत्येक बर्ष १ अर्ब रुपैयाँ भन्दा बढि रकम जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको थियो ।

तीनसय भन्दा बढि क्षमताका जलविद्युत् आयोजनाहरुमा लगानी गर्न सरकारले कोषलाई प्रस्ताव गरेको थियो । दीर्घकालीन रुपमा उर्जा तथा जलविद्युत् निर्माण गर्न कोषबाट लगानी हुँदै आएको छ । बार्षिक रुपमा सञ्चयकोषको नाफा बढ्दै गएपछि कोषले जलविद्युत् क्षेत्रमा लगानी बढाएको जनाइएको छ ।