बलेवा विमानस्थलमा परीक्षण उडान

नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलाइन्सका प्रतिनिधि, बागलुङ नगरपालिका पूर्व सांसदबीच दुई साताअधि भएको निर्णयअनुसार आज परीक्षण उडान गरिएको हो ।

विगत २६ वर्षदेखि रोकिएको बलेवा विमानस्थलमा सोमबार तारा एयरले परीक्षण उडान गरेको छ । नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलाइन्सका प्रतिनिधि, बागलुङ नगरपालिका पूर्व सांसदबीच दुई साताअधि भएको निर्णयअनुसार आज परीक्षण उडान गरिएको हो ।

विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधारका काम, विमानस्थल वरिपरिका रुखहरु काट्नुपर्ने प्राविधिक टोलीको सुझावसहित रुख काट्ने, विमानस्थल सम्याउने, चट्टान तथा ढुङ्गाहरु हटाउने काम सम्पन्न भएपछि परीक्षण उडान सुरु गरिएको विमानस्थलमा पुगेका बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले क्यापिटल नेपाललाई जानकारी दिए । ‘परीक्षणका लागि विमानस्थल वरिपरिका काम पूरा भएका छन्’ उनले भने, ‘तारा एयरले उडान भरिरहेको छ ।’ उनले तारा एयरमार्फत विभिन्न पाइलटले पटक पटक उडान गरिरहेको जानकारी समेत दिए ।

आगामी चैत ९ गतेदेखि हरेक आइतबार नेपाल एयर र शुक्रबार तारा एयरले उडान भर्ने छन् । बागलुङदेखि काठमाण्डौंका लागि न्यूनतम १२ जना यात्री भएपछि उडान गर्ने सहमति भएको छ । यदि ८–९ जना यात्री भएमा १२ जनाको भाडामा नपुग रकम बागलुङ नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ ।

दुई वर्ष पहिले नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माको पहलमा विमानस्थल सञ्चालन गर्ने भनी परीक्षण उडान गरेपनि विमानस्थल सञ्चालनमा आउन सकेको थिएन । त्यतिबेला बागलुङ नगरपालिकाले सम्झौता नगरेका कारण सञ्चालनमा आउन नसकेको उपप्रमुख खड्काले बताए । ‘दीनानाथ शर्माजीका पालामा पनि सञ्चालन गर्ने तयारी थियो ।’ उनले भने, ‘त्यति बेला एग्रिमेन्ट भएको थिएन ।’

परीक्षण उडानपश्चात् सञ्चालनमा आउने भएपछि बलेवा क्षेत्रमा चहलपहल बढ्दै जान थालेको छ । बलेवा विमानस्थल सञ्चालनमा आएसँगै बागलुङको पर्यटन र आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको उपप्रमुख खड्काले बताए । अहिले बलेवा एयरपोर्ट सञ्चालनमा आएसँगै बागलुङ सदरमुकामदेखि बलेवासम्मको सडक कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।

विमानस्थल विसं २०४८ सालदेखि सञ्चालनमा आउन सकेको थिएन ।