साउनदेखि बाहिरी चक्रपथको काम सुरु हुने

काठमाण्डौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ विकास आयोजनाले पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको चक्रपथ निर्माण अगाडि बढाइने भएको हो । यसअघि निर्माणमा प्रवेश गरेपनि जग्गा प्राप्तिको समस्या उत्पन्न भएपछि निर्माण कार्य अवरुद्ध भएको थियो ।

उपत्यकाका तीन जिल्लालाई एक फन्को लगाउने बाहिरी चक्रपथको निर्माण आगामी साउनदेखि हुने भएको छ ।

काठमाण्डौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ विकास आयोजनाले पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको चक्रपथ निर्माण अगाडि बढाइने भएको हो । यसअघि निर्माणमा प्रवेश गरेपनि जग्गा प्राप्तिको समस्या उत्पन्न भएपछि निर्माण कार्य अवरुद्ध भएको थियो । आवश्यक जग्गा प्राप्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पुगेकाले चाँडै निर्णय हुने र आगामी आर्थिक वर्षको सुरुदेखि काम हुने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सतुङ्गलदेखि गम्चा हुँदै चोभारसम्मको चक्रपथ निर्माणलाई अगाडि बढाइने आयोजनाले जनाएको छ । बाहिरी चक्रपथ निर्माणका लागि प्रस्ताव मन्त्रिपरिषद पुगिसकेको र स्वीकृति पाएपछि निर्माण पक्रिया अगाडि बढाइने बाहिरी चक्रपथ विकास आयोजनाका शाखा अधिकृत धु्रवप्रसाद सापकोटाले जानकारी दिए । ‘चक्रपथ निर्माणका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ’ उनले भने, ‘स्वीकृत भएपछि काम सुरु गर्छौ ।’ सरकारले छिट्टै स्वीकृत गर्ने सङ्केत देखाएकाले आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने उनको तर्क छ । जग्गा अधिग्रहण वा मुआब्जा वितरण नहुने र जग्गाको एकीकरण तथा प्लटिङ हुने भएकाले चक्रपथ निर्माणमा कुनै समस्या नरहेको सापकोटाले बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग समिति (जाइका)ले सन् १९९३ मा नेपाल सरकारसँग बाहिरी चक्रपथ अध्ययन सञ्चालन प्रतिवेदन प्रस्तुत गरेको थियो । सोही अध्ययनअनुसार चक्रपथ निर्माणको खाका कोरिएको हो । ५० मिटर फराकिलो हुने गरी निर्माण हुने चक्रपथ ८ लेनको बन्ने छ । काठमाण्डौं, ललितपुर र भक्तपुर क्षेत्रको बाहिरी क्षेत्रसँग जोडिने चक्रपथको लम्बाई ७२ किलोमिटर हुनेछ । काठमाण्डौँ उपत्यकामा ३५ दशमलव ८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी लम्बाई जोडिएर बाहिरी चक्रपथको प्रारुप तयार भएको छ ।

त्यस्तैगरी ललितपुरमा लुभु, धापाखेल, बागमती क्षेत्रमा चक्रपथ विस्तार हुने छ । भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङडोल, भातेढिकुरो, नयाँठिमी, दधिकोट क्षेत्रमा जोडिएर बाहिरी चक्रपथ निर्माण हुनेछ । न्यूनतम ६–६ मिटर चौडामा सवारीसाधन गुड्ने दुई रुट बन्ने छन् । दुवै साइडतर्फ २–२ मिटरमा साइकल लेन बन्ने छ । त्यस्तै दुवैतर्फ फुटपाथ वा पैदलमार्ग र ग्रिनबेल्ट हुने छन् । झण्डै १३ वर्ष पहिले चक्रपथकोे रोडम्याप तयार गरेपनि स्थानीयबासीलाई प्रत्यक्ष लाभबारे बुझाउन नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको सापकोटा स्वीकार्छन् ।

स्थानीयको ७ प्रतिशत जग्गा योगदान
जग्गा अधिग्रहण तथा मुआब्जा दिनु नपर्ने र स्थानीयबीच जग्गा योगदान गर्न तयार भएको आयोजनाले जनाएको छ । चक्रपथ निर्माणका लागि प्रभावित क्षेत्रका बासिन्दाहरुले ७ प्रतिशत जग्गा योगदान गर्नुपर्ने छ । त्यसबापत ट्र्याक निर्माण पश्चात् २० मिटर आसपासको जग्गा प्लटिङ हुने छ । यसले जग्गा व्यवस्थित र आधुनिक क्षेत्र बन्ने छ ।

७२ अर्ब रुपैयाँ लागत अनुमान
बाहिरी चक्रपथ आयोजनाका अनुसार, सुरुमा करिब अढाई वर्षभित्र ८ लेनको ट्र्याक दुवैतर्फ बनाउने त्यसपछि निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ । त्यसको झण्डै १० वर्षभित्र बाहिरी चक्रपथ निर्माण सम्पन्न गर्ने योजना छ । राष्ट्रियस्तरको आधुनिक यातायातको पूर्वाधारको रुपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि ७२ अर्ब रुपैया लागत लाग्ने अनुमान गरिएको छ ।

बाहिरी चक्रपथ निर्माणले सहरी र ग्रामीण क्षेत्रलाई प्रत्यक्ष जोड्ने छ । पछिल्लो समय चर्चामा रहेको काठमाण्डौं तराई द्रुत मार्ग यही चक्रपथमा जोडिने छ । सुरक्षित र छोटो तथा लामो दूरीको यातायात कम समयमै गर्न सकिने छ । अहिले भएजस्तो हरेक चोक चोकमा ट्राफिक जाम नहुने, दुर्घटना कम

हुने र सहज पैदलयात्रा गर्न सकिने विश्वास गरिएको छ ।
आधुनिक, व्यवस्थित सहरीकरण र ग्रीन सिटीको रुपमा बाहिरी चक्रपथ कोसेढुङ्गा साबित हुने विज्ञहरुहरु बताउँछन् ।

स्केचहरुः http://moud.gov.np/?p=956