वैदेशिक रोजगारमा हुने सिन्डिकेट तोड्छु– श्रममन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा हुने सबै प्रकारका सिन्डिकेटलाई तोड्ने बताएका छन् । वैदेशिक रोजगारको नाममा हुने सिन्डिकेटलाई शून्यमा झार्ने समेत मन्त्री विष्टले बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री विष्टले कामदारलाई ठग्ने नियत राख्ने म्यानपावर कम्पनीलाई डाइनासोर जस्तै लोप गराइदिने चेतावनी समेत दिए । ‘व्यवसायीहरुले व्यवस्थित र मर्यादित भएर व्यवसाय गर्नुहोला, राम्रो काम गर्ने बाँच्ने तर ठग्ने र नराम्रो काम गर्नेलाई छोड्दिन,’ उनले भने ।

कार्यक्रममा संघका अध्यक्ष रोहन गुरुङले कामदारको स्वास्थ्य परिक्षणको नाममा सिन्डीकेट भैरहेकोले ती संस्थालाई कारवाही गर्नुपर्ने बताए । ‘सिन्डीकेटकै कारण अहिले खाडीका तीन राष्ट्र जाने कामदारले स्वास्थ्य परिक्षण गर्न पाइरहेका छैन, स्वास्थ्य परिक्षण रोकिएको छ,’ उनले भने । सुचिकृत स्वास्थ्य संस्थाका सिमित १२ संस्थाले आर्थिक भार पारेर स्वास्थ्य परिक्षण गरिरहेको अवस्था रहेको उनले बताए ।

‘माइग्राम्स, भिएलएनलगायतका संस्थाले आर्थिक भार पारिरहेकोले सरकारले छानविन गरि कारवाही गर्नुपर्छ,’ उनले भने ।