२० वर्ष पुराना एक सयभन्दा बढी सवारीसाधन कारबाहीमा

यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म सबै खाले सवारी साधनहरुको सङ्ख्या २७ लाख ८३ हजार ४ सय २८ दर्ता छ । यही तथ्याङ्कलाई आधार मान्दा पनि २० बर्ष पहिले अर्थात आर्थिक वर्ष २०५३/०५४ भन्दा पहिले कुल २ लाख ३ हजार ४ सय ४४ पुराना रहेको पाइएको छ ।

सरकारले २० वर्ष पुराना सवारीसाधनहरु हटाउने अभियान सुरु भएसँगै हालसम्म एक सय १० सवारी कारबाहीकाे दायरामा परेका छन् । बढ्दो सवारी चाप, ट्राफिक जाम, प्रदूषण कम गर्न भन्दै सरकारले यही चैत १ गतेदेखि पुराना यातायातका सवारीसाधन हटाउन निर्देशन दिएको थियो ।

हालसम्म जम्मा १६ हजार ९ सय ६१ सवारीसाधन २० वर्ष पुराना यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले जानकारी दिए । सार्वजनिक पुराना सवारीसाधनहरुको पत्रु (स्क्राप)सम्बन्धी सूचना सार्वजनिक गरेको उनले बताए । ‘हालसम्म १६ हजार ९ सय ६१ सार्वजनिक पुराना सवारीसाधनहरु छन्,’ उनले भने, ‘अनुगमनका क्रममा फेला परेका १ सय १० वटा पुराना सवारी छन ती सवारीसाधन कारबाहीको दायरमा छन् ।’

उनका अनुसार २ वर्षभित्र २० वर्ष सार्वजनिक सवारीसाधन पत्रु गर्ने सूचना प्रकाशित भएपछि अहिलेसम्म १ सय २७ वटा सवारी हटाइसकिएको छ ।
यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷०७४ सम्म सबै खाले सवारी साधनहरुको सङ्ख्या २७ लाख ८३ हजार ४ सय २८ दर्ता छ । यही तथ्याङ्कलाई आधार मान्दा पनि २० बर्ष पहिले अर्थात आर्थिक वर्ष २०५३/०५४ भन्दा पहिले कुल २ लाख ३ हजार ४ सय ४४ पुराना रहेको पाइएको छ ।

पुराना सवारीले पैदलयात्रुलाई सकस

सार्वजनिक रुपमा पुराना सवारीसाधनहरुका कारण पनि ट्राफिक जाम हुने गरेको छ । २० वर्ष पुराना सार्वजनिक सवारीसाधन अझै सञ्चालनमा रहँदा प्रदूषण बढ्नुका साथै पैदलयात्रुलाई बाटो काट्नसमेत सकस हुने गरेको छ । बढ्दो सवारीसाधनहरुको चापले गर्दा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । सुरक्षित रुपमा पैदलयात्रीलाई जेब्रा क्रस गर्न सकस भएको छ, जसका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

ध्वनि तथा वायु प्रदूषण बढ्दो

पुराना सार्वजनिक सवारीसाधनहरु मात्रै नभई निजी तथा ठूला खालका यातायात साधनले समेत दिनानुदिन सहरमा ध्वनि तथा वायु प्रदूषण बढेको छ । बढ्दो सवारी चापले एकातिर प्रदूषण बढाएको छ भने अर्कोतिर ध्वनि प्रदूषण पनि बढेको छ ।

ट्राफिक जामको समस्या कहिलेसम्म ?

यातायात व्यवस्था विभागका सूचना अधिकारी अर्यालका अनुसार २० वर्ष पुराना सार्वजनिक सवारीसाधनहरु हटेपछि ट्राफिक जामको समस्या समाधान हुन्छ । पुराना सवारी साधनहरुको अनुगमन तथा खोजी भइरहेको र कारबाही प्रक्रियापश्चात् सवारी चाप कम हुने उनले बताए । ‘२० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने अभियान निरन्तर हुन्छ,’ उनले भने, ‘त्यसपछि उपत्यकामा ट्राफिक जाम समस्यामा कमी आउने अपेक्षा लिएका छौँ ।’