मन्त्रीको दाबी असारमा मेलम्ची आउँछ, प्राविधिक भन्छन्, अझै एक वर्ष पनि लाग्न सक्छ

खानेपानी तथा सरसफाई मन्त्री बिना थापाले असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलमा पानी खसाल्ने दाबी गरे पनि त्यो अनुसार मेलम्ची खानेपानीको प्रगति नभएको प्राविधिहरुले बताएका छन् ।

‘जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन्,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले भने, ‘अझै एक सय ९० मिटर सुरुङ खन्न बाँकी छ । यदि सुरुङ खन्दा खन्दैबीचमा ठूलो चट्टान आयो भने कुनै पनि हालतमा एक वर्ष अघि पानी आउन सक्दैन ।’

‘असार आउन तीन महिना मात्रै बाँकी छ । योबीचमा कसरी एक सय ९० मिटर सुरुङ खनेर सकिन्छ ?’ पन्तले प्रश्न गर्दै भने ‘हाल दैनिक ६ मिटर मात्रै सुरुङ खन्ने काम भइरहेको छ । यहि हिसावले सुरुङ खन्ने काम अघि बढे असारमा पानी आउँछ । यदि बीचमा कुनै ठूलो चट्टान भेटियो भने सुरुङको काम सुस्त हुन्छ ।’

कडा चट्टान नभए मात्रै १ महिनामा सुरुङ खन्ने काम करिब सकिन्छ । तर, कडा चट्टान भएको खण्डमा डेढ देखि दुई महिना लाग्न सक्छ । आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । तर, मन्त्री थापाले गत मङ्गलबार मेलम्ची खानेपानी आयोजना निर्माणको अवस्थाको बारेमा स्थलगत निरिक्षण गरेकी थिइन् । निरीक्षणका क्रममा उनले असार मसान्तभित्र आयोजना निर्माणको काम सक्न निर्देशन दिएकी हुन ।

आगामी असार मसान्तसम्म सम्भव छैन— आयोजना विकास समिति

चालू आर्थिक बर्ष २०७४÷०७५ अन्त्यसम्ममा पानी ल्याउन सम्भव नदेखिएको खानेपानी आयोजना विकास समितिका प्रवक्ता पन्तले जानकारी दिए । ‘चालू आर्थिक बर्षलाई मेलम्चीको पानी ल्याउने बर्ष हो तर, आयोजना निर्माणमा विभिन्न कारणले ढिलाई हुँदा सम्भावना कम देखिन्छ’ उनले भने, ‘आगामी आर्थिक बर्षको अन्त्यसम्म मात्रै पानी आउन सक्छ ।’ उनले सुरुङ निर्माण सकिएपछि ढलान र इन्टेकको काम सुरु हुने बताए । साढे २१ मिटर ढलान गर्नका लागि झण्डै ३ महिना भन्दा बढि लाग्ने उनको भनाइ छ ।

किन हुँदैछ ढिलाई ?

अहिले सुरुङ निर्माणको काम तीव्र रुपमा भइरहेपनि बिचको समयमा भने अति आवश्यक पर्ने सामानहरुको समयमै नहुँदा समस्या भएको आयोजनाले जनाएको छ । डिजेल तथा अन्य निर्माण सामाग्रीहरु समयमै आपूर्ति नहुँदा काम रोकिने गरेको पन्तको भनाई छ । उनका अनुसार निर्माण व्यवसायीहरुले कामदारहरुलाई समयमै ज्याला भक्तानी नदिँदा समेत काम रोकिने गरेको छ । ‘हामीले ठेक्का सम्झौताअनुसार बिल भुक्तानी गर्दिएका छौँ’ उनले भने, ‘निर्माण व्यवसायीले कामदारलाई तलव समयमै नदिँदा प्रगति कम हुनसक्छ ।’ त्यसबाहेक सिमित कामदार, अनुगमन फितलो हुँदा आयोजना लम्विएको मान्न सकिन्छ ।

उपत्यकामा ११ पानी ट्याङ्की बन्ने

सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोेड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा यो परियोजना अघि बढाएको हो । सुन्दरीजल प्रशोधन कन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा विशाल पानी ट्यांकीमा संकलन गरेर वितरणको प्रबन्ध मिलाइनेछ ।

बाँकी खण्डमा ब्रेक थु्रको काम चुनौतीपूर्ण

दुई दशकअघि निर्माण सुरु गरेको मेलम्ची आयोजना निर्माण भइरहेको छ । अहिले सिन्धु–ग्याल्थुम खण्डमा ब्रेक थु्रको काम भइरहेको छ । नरम चट्टान भएको यस खण्डमा ब्रेक थु्र गर्न काम गर्न चुनौतीपूर्ण रहेको जनाइएको छ । कडा चट्टान भएकोमा खन्दा भन्दा नरम चट्टान भएको खण्डमा सुरुङ खन्न ढिला र जोखिमपूर्ण हुने गर्छ ।

साढे २७ किलोमिटर लामो सुरुङमार्गमध्ये २७ हजार ३ सय १० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले पनि एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थु्र गर्ने प्रतिबद्धता जनाएका थियो । सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गतवर्ष नै जोडिएको थियो भने ग्याल्थुम–अम्बाथान खण्ड गत पुसमा ब्रेक थु्र भएको थियो ।

आयोजनाले राजधानीमा ७७ किमी वितरण प्रणालीमध्ये ७० किलोमिटर पाइप विच्याइसकेको छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १ सय ८६ घरमा धारा जडान गरिएको छ । निर्माणको जिम्मा लिएको इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)ले सम्झौता अनुसार निर्धारित समयमा काम नगर्दा यो परियोजना लम्बिएको सम्भावना देखिन्छ ।