तनहुँ जलविद्युत् आयोजनामा ६१ करोड ४३ लाख रुपैँया मुआब्जा वितरण

डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए ।

तनहुँ जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय आयोजना प्रभावितहरुलाई ९० प्रतिशत मुआब्जा वितरण गरिएको छ ।

डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनले १२ सय रोपनी क्षेत्रफलका लागि झन्डै ९० प्रतिशतभन्दा बढी मुआब्जा वितरण गरिएको बताए । ‘आयोजना निर्माणका लागि १२ सय रोपनी लिनुपर्छ’ उनले भने, ‘मुआब्जा तथा क्षतिपूर्तिबापत ६७ करोड अनुमान गरेका थियौँ, अहिलेसम्म ६१ करोड ३४ लाख रुपैँया मुआब्जा वितरण गरिसकेका छौँ ।’ उनले आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रिया अगाडि बढेको बताए ।

अहिले आयोजना निर्माणपूर्वका कामहरु भइरहेका छन् । सन् २०२२ भित्र बनाई सक्ने लक्ष्य राखिएको आयोजना निर्माणका लागि ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका अतिरिक्त एसियाली विकास बैङ्क, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपियन इनभेस्टमेन्ट बैङ्क (ईआईबी)को संयुक्त लगानी रहने छ ।

आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । आयोजनाबाट प्रत्यक्ष प्रभावितहरुलाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यले निशुल्क सीप तथा प्राविधिक तालिम सञ्चालन गरिसकेको छ । गत कार्तिकमा आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले ६० जनालाई तालिम दिएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका महिलाहरुलाई निशुल्क ब्युटिसियन तथा सिलाइ कटाइ तालिम प्रदान गर्ने तयारी गरेको जनाइएको छ ।