आवास अनुदान वितरणमा समस्या बढ्दै

भूकम्प पीडित लाभग्राहीलाई ऋण प्रवाहमा समस्या, तोकिएको समय र दिनमा मात्र लाभग्राही अनुदान रकम वितरण गर्ने गरेको, लाभग्राहीको नाम नमिलेको, लाभग्राहीको नाम लाभग्राही सूचीमा नभएको, सेवा शुल्क, लाभग्राहीको खातामा रकम जम्मा नगर्ने गरेको, किस्ता वितरणमा ढिलाइ गरेको, सेवा शुल्क नपाएको जस्ता समस्या देखिएकाले तत्काल समाधानका लागि बैङ्कहरुलाई निर्देशन दिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पपीडितलाई उपलब्ध गराएको आवास अनुदान रकम वितरणमा देखिएका समस्या समाधान गर्न बैङ्कहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले बैङ्कहरुरुलाई पत्र काट्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो । बैङ्क तथा वित्तीय संस्थासँग भएको सहमतिअनुसार अहिले भुकम्प पीडितलाई निजी आवास निर्माण गर्न अनुदानमा देखिएका समस्या तत्काल समाधान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

भूकम्प पीडित लाभग्राहीलाई ऋण प्रवाहमा समस्या, तोकिएको समय र दिनमा मात्र लाभग्राही अनुदान रकम वितरण गर्ने गरेको, लाभग्राहीको नाम नमिलेको, लाभग्राहीको नाम लाभग्राही सूचीमा नभएको, सेवा शुल्क, लाभग्राहीको खातामा रकम जम्मा नगर्ने गरेको, किस्ता वितरणमा ढिलाइ गरेको, सेवा शुल्क नपाएको जस्ता समस्या देखिएकाले तत्काल समाधानका लागि बैङ्कहरुलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्कर्स एसोसियसन, डेभलपमेन्ट बैङ्कर्स एसोसियसन नेपाल, नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसन तथा देशका सवै गाउँपालिका तथा नगरपालिकालाई प्राधिकरणले निर्देशन दिएको छ ।

पुननिर्माणको कामलाई प्राधिकरणले तीव्रताका साथ अगाडी बढाएको प्रवक्ता यमलाल भूषालले जानकारी दिए । उनले निजी आवास अनुदानमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको बताए । ‘भूकम्पपीडितका लागि अनुदान नपाएका जिल्लाहरुमा देखिएका समस्या समाधान गर्न बैङ्कहरुलाई आग्रह गरेका छौँ’ उनले भने, ‘अनुदान नपाएर आवास निर्माणको काम अव रोकिदैन ।’ प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म १ लाख १२ हजार भन्दा बढि आवास निर्माण भइसकेका छन, भने झन्डै पौने ४ लाखआवास बन्दै गरेका छन ।

त्यस्तैगरी हालसम्म अतिप्रभावित १४ जिल्लामा ६ लाख, कम प्रभावित १८ जिल्लामा ८२ हजार भन्दा बढि लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिएको छ, भने अतिप्रभावित १४ मा २ लाख ७८ हजार, र कम प्रभावित १८ जिल्लाहरुमा १ हजार ४१ लाभग्राहीलाई दोस्रो किस्ता वितरण गरिसकिएको तथ्याङ्कमा उल्लेख छ । पुननिर्माणलाई गति दिन प्राधिकरणले थप ४१ हजार निर्माणकमी थप गरेको छ । प्राधिकरणले चैत मसान्तसम्म दोस्रो किस्ताको समयावधि तोकेको छ ।