सीडब्ल्यूटीडब्ल्यू चाइना कम्पनीले पाँच विद्युत् आयोजना बनाउने

चिनियाँ कम्पनीले रामेछापको सिमानामा खिम्ती—२, रसुवामा लाङटाङ र थलाकुखोला, दोलखामा चर्नावती, रसुवामा थलाकुखोला र स्याङ्जामा आँधीखोला जलविद्युत् आयोजना निर्माण गर्दै छ ।

चिनियाँ कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनाले नेपालमा पाँच ओटा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । उक्त कम्पनीले आगामी २०७५ असोजदेखि दोलखा र रामेछापको सिमानामा खिम्ती—२ निर्माण सुरु गर्दै छ । उक्त आयोजनामा अहिले कम्पनीले इन्जिनियरिङको काम गरिरहेको छ । उक्त कम्पनीले रसुवामा दुई आयोजना लाङटाङ र थलाकुखोला जलविद्युत् आयोजना निर्माण जिम्मा लिएको छ ।

दोलखामा चर्नावती, रसुवामा थलाकुखोला, स्याङ्जामा आँधीखोला जलविद्युत् आयोजना पनि निर्माण गरिने खिम्ती—२ जलविद्युत् आयोजनाका इन्जिनियर रामहरि शर्माले जानकारी दिए । चिनियाँ कम्पनी (सीडब्ल्यूटीडब्ल्यू)ले झन्डै ९ अर्ब रुपैयाँ लगानीमा खिम्ती—२ जलविद्युत् आयोजना निर्माण गर्दै छ । उक्त कम्पनीले नेपालमा अन्य आयोजना पनि निर्माण गर्ने उनले बताए । कम्पनीले बनाउने ती जलविद्युत् आयोजना इन्जिनिरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा निर्माण हुनेछन् ।

कम्पनीले सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइनसम्बन्धी काम गर्दै आएको छ ।

हेजिङ सिस्टम ल्याए लगानी बढ्छ : गुरागाईं
जलविद्युत् क्षेत्रमा विदेशी कम्पनीको लगानी बढाउन ‘हेजिङ सिस्टम’ ल्याउनुपर्ने स्वतन्त्र उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । हेजिङ सिस्टम अर्थात् नाफाघाटा दुवै पक्षले वहन गर्ने गरी विदेशी कम्पनीसँग नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गर्नुपर्ने उनको भनाइ छ ।

डलर र नेपाली रुपैयाँमा अन्तर पर्ने भएकाले विदेशी कम्पनीले लगानीमा खतरा मोल्न नचाहने उनले बताए । त्यसका लागि पीपीए गर्दा नै नाफाघाटा दुवै पक्षले वहन गर्ने गरी सम्झौता गर्नुपर्ने उनको धारणा छ । सरकारले लगानी गर्न इच्छुक विदेशी र नेपालका कम्पनीसँग सहकार्य एवम् समन्वय गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।