दशैँ अगावै खानीखोला जलविद्युत आयोजनाको उत्पादन, साढे ३३ अर्ब लगानी, ८५ प्रतिशत काम पूरा

उच्च हिमाली क्षेत्रमा भएकाले १२ महिनामध्ये ५ महिना मात्रै काम गर्न सकिने आयोजनाले जनाएको छ । असोज पछि अत्याधिक चिसो बढ्ने र बैशाख पछि हिउँ पर्ने तथा बर्षा हुने समस्याका कारण आयोजनाको काममा ढिलाई भएको जनाइएको छ ।

दोलखामा निर्माणाधीन खानीखोला जलविद्युत् आयोजनाले आगामी दशैँ अगाडि नै उत्पादन दिने भएको छ । कुल ४० मेगावाट क्षमताको उक्त आयोजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको र आगामी दशैँ अगावै विद्युत उत्पादन बजाररमा ल्याउने आयोजनाका सिनियर इन्जिनियर गोविन्द अर्यालले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘अहिले इन्टेक र पावरहाउस निर्माणको काम भइरहेको छ । काम तीव्र रुपमा भइरहेको छ’ उनले भने, ‘यहि गतिमा काम भए र कुनै समस्या नआए आगामी दशैँ अगावै उत्पादन दिने गरी काम गरेका छौँ ।’

उच्च हिमाली क्षेत्रमा भएकाले १२ महिनामध्ये ५ महिना मात्रै काम गर्न सकिने आयोजनाले जनाएको छ । असोज पछि अत्याधिक चिसो बढ्ने र बैशाख पछि हिउँ पर्ने तथा बर्षा हुने समस्याका कारण आयोजनाको काममा ढिलाई भएको जनाइएको छ ।

सन २०१० अक्टोवरमा विद्युत खरिद सम्झौता(पीपीए) गरेको आयोजनाको निर्माणको कार्य भारतीय नाकाबन्दी र भूकम्पका कारण २ बर्ष पर धकेलिएको थियो । ग्रिन लाइफ इनर्जी प्रालिले निर्माण गरिरहेको उक्त आयोजना ३ अर्ब ३३ करोडको लागत अनुमान गरिएको छ । पहिलो चरणमा २५ मेगावाट विद्युत उत्पादन गर्ने इन्जिनियर अर्यालले बताए ।

उनले दोस्रो चरणमा हुनबु खोलाको पानी फर्काएर मिसाइएपछि १५ मेगावाट विद्युत थपिने बताए । पानी खसाल्ने ९ सय ६३ मिटर हेड बनाइएको छ । त्यस्तैगरी आयोजनादेखि २८ किलोमिटरको दुरीमा रहेको सिङ्गटी सवस्टेसनसम्म पुग्ने प्रशारण लाइन निर्माणको काम अगाडी बढेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत सिंगटी सवस्टेशनमा जोडिने छ । त्यस्तैगरी आयोजनाको अहिले इन्टेक, पावर हाउस निर्माण लगायत सिभिल तथा इलेक्ट्रो मेकानिकल, ट्रान्समिसन लाइन निर्माणको काम तीव्र रुपमा भइरहेको बताए ।