सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचना प्रविधि क्षेत्रमा रहेका बाधा र समस्यालाई पूर्ण रुपमा प्रतिस्थापन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटो तिर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । नेपाल मोबाइल वितरक सङ्घ (नाम्डा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन् ।
मन्त्री बास्कोटाले सरकार अब आर्थिक तथा प्रविधिका आधारमा सबै क्षेत्रलाई डिजिटलइज्ड गर्न चाहेको बताएका छन् । उनले नेपाल मोबाइल सङ्घलाई जनताको सेवा तथा हित हुने काम गर्न समेत आग्रह गरे ।
बास्कोटाका अनुसार कानुनले दिएका सम्पूर्ण सुविधा तथा अधिकार समान ढङ्गबाट उपभोग गर्न पाउनुका साथै कानुनलाई छल्ने तथा सम्बन्धका आधारमा दुरुपयोग गर्न नमिल्ने र मुलुकमा आर्थिक समृद्धिका निम्ति सबैलाई एकताबद्ध भएर लाग्न सुझब दिएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले मौखिक रुपमा अर्थमन्त्रालयसँग प्रस्ताव राखिसकेको र केहि समय पश्चात नेपालमा अयात हुने मोबाइल सेटहरु नम्बर दर्ता प्रणाली छिटै कार्यन्वयनमा ल्याउने र सबै क्षेत्रमा कडाइका साथ काम गर्नेमा सरकार पनि प्रतिवद्धता रहेको पनि बताए ।
त्यस्तै क्यान महासङ्घका निवर्तमान अध्यक्ष विनोद ढकालले सूचना तथा सञ्चार क्षेत्रलाई बिशेषगरी ग्रामिण क्षेत्रमा आधारीत भएर अगाडी बढ्नु पर्ने बताए । विभिन्न मुलुकबाट आयात हुने चोरीका मोबाइललाई सरकारले योजनावद्ध तरिकाले व्यवस्थापन गनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनीप्रसाद अर्यालले नेपालमा राजस्व नतिरी भित्रिएका मोबाइल तथा अन्य इलेक्ट्रोनिक समान दर्ता प्रणाली छिटै लागू हुने बताए । अर्यालका अनुसार गत बैशाख एक गते बाट प्राधिकरणले मोबाइल आईएमइआई रजिष्ट्रेसन निर्देशिका ल्याए पनि हाल सम्म एक करोड ९३ लाख हाराहारीमा मोबाइल दर्ता भएको समेत बताए ।
सङ्घका अनुसार एक बर्षमै २५ अर्ब रुपैयाँ बराबरको मोबाइल बिक्री तथा वितरण भएको जानकारी दिएको छ ।