सदरमुकाम चरिकोटमा आगामी चैत ३० गतेदेखि ‘सडक महोत्सव २०७४’ को आयोजना गरिने भएको छ । नयाँ वर्ष मनाउन चरिकोट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि चैत्र ३० गते महोत्सवको आयोजना गर्न लागिएको हो ।
सदरमुकाम चरिकोटबीच बजारमा आयोजना गरिने महोत्सवमा विभिन्न होटलहरुले खानाका विभिन्न परिकारहरु सडकमै तयार गरेर खुवाउने ब्यवस्था मिलाईएको पत्रकार सम्मेलनमा आयोजक बुद्धनगर टोल सुधार तथा सरसफाई समितिले बताएको छ ।
महोत्सवमा इन्डियन, कन्टिनेन्टल,चाइनिज, नेवारी खाना लगायत दोलखाका मौलिक परिकारहरुको स्वाद लिन सकिने आयोजकको दावी रहेको छ ।
महोत्सवमा खानाका परिकारका साथै दोलखाका मौलिक उत्पादनका सामग्रीहरुको स्टल समेत राखिने आयोजक बुद्धनगर टोल सुधार तथा सरसफाई समितिले जनाएको छ । साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम,जनप्रतिनिधिहरुलाई नागरिक अभिनन्दन, डकुमेन्टी प्रर्दशनी, स्थानिय कलाकारहरुको कन्सर्ट, बिभिन्न जातजातिको भुसभुषा प्रर्दशन, दोलखाका परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुति, फोटो प्रर्दशनी लगायतका कार्यक्रमहरुले समेत रहेको आयोजकले जनाएको छ । चरिकोटमा पहिलो पटक सडक महोत्सव आयोजना गर्न लागिएको हो ।