प्रधानमन्त्रीको भारत भ्रमण – पुनर्निर्माणमा पुरानै सम्झौता कार्यान्वयन पहल हुने

भारत सरकारले नेपाललाई २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ गरी झन्डै १ खर्बको आर्थिक सहायता गर्ने सम्झौता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पुनर्निर्माणसम्बन्धी पुरानै सम्झौता कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिएको छ । भूकम्पपछि भारत सरकारले क्षतिपूर्ण विद्यालय, स्वास्थ्य संस्था, पुरातात्त्विक सम्पदाको पुननिर्माण गर्ने सम्झौता कार्यान्वयन गराउने विषय महत्त्वपूर्ण रहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

भारत सरकारले नेपाललाई २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ गरी झन्डै १ खर्बको आर्थिक सहायता गर्ने सम्झौता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने उनले बताए । ‘पुनर्निर्माणसम्बन्धी भारतसँग नयाँ कुनै सम्झौता केही छैन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पुनर्निर्माणका लागि भारत सरकारसँग भएको सम्झौता कार्यान्वयनका सम्बन्धमा कुरा उठाउनुहुनेछ ।’ त्यस्तै उनले नयाँ भौतिक संरचना निर्माणका लागि भारतीय सहयोग आवश्यक रहेको बताए ।

दोस्रो किस्ताको समय असार मसान्तसम्म

प्राधिकरणले दोस्रो किस्ता लिने समय थप गरेको छ । यसअघि चैत मसान्तसम्मका लागि दोस्रो किस्ता लिने समयावधि थियो । प्राधिकरणले निजी आवास निर्माणका लागि अनुदान, बैङ्किङ सेवा, अनुदान र लाभग्राहीले समयमै किस्ताबापतको रकम पाउन नसकेकोलगायत समस्या देखिएपछि तीन महिना थप गरिएको प्रवक्ता भुसालले जानकारी दिए । समयमै निजी आवास निर्माणका लागि आवश्यक पर्ने ऋण, अनुदान र किस्ता वितरणलाई तीव्रताका साथ अघि बढाइने उनको भनाइ छ ।

थप एक लाख अफिसियल होइन : प्राधिकरण

भूकम्पपीडितको निजी आवास निर्माणका लागि प्राधिकरणले थप एक लाख रुपैयाँ दिने निर्णय आधिकारिक रुपमा नआएको प्रवक्ता भुसालले जानकारी दिए । ‘किस्ताबापतको थप एक लाख दिने निर्णय अफिसियल रुपमा आएको छैन,’ उनले भने, ‘हामीले जे गाइडलाइन ग¥यो, त्यही गर्ने हो । भूकम्पपीडितका लागि तीन किस्तास्वरुप ३ लाख पाउनुहुन्छ ।’