‘रक्सौल—काठमाडौं रेलमार्ग सरकारको प्राथमिकतामा पर्नुपर्छ’

‘मेची—महाकाली रेल मार्ग भन्दा पनि रक्सौल—काठमाडौं रेलमार्ग छिटो बन्नुपर्छ भन्नेमा हामी छौं’ उनले भने, ‘तुलनात्मक रुपमा छिटो र काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय रेलमार्गसँग जोड्न सम्भव हुन्छ ।’

निजी क्षेत्र तथा सरकारी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा रक्सौल—काठमाडौं रेल मार्ग निर्माणलाई विशेष प्रथामिकता दिनुपर्ने बताएका छन् । रेल विभाग तथा नेपाल उद्योग वाणिज्य महासङ्घले रक्सौल—विरगन्ज—काठमाडौं रेल मार्ग निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् ।

विभागका महानिर्देशक अनन्त आचार्यले आसन्न भारत भ्रमणमा प्रधानमन्त्री ओलीलाई विभागका तर्फबाट पूर्व— पश्चिम रेलमार्ग भन्दा पनि रक्सौल—काठमाडौं रेल मार्ग पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएको बताए । ‘मेची—महाकाली रेल मार्ग भन्दा पनि रक्सौल—काठमाडौं रेलमार्ग छिटो बन्नुपर्छ भन्नेमा हामी छौं’ उनले भने, ‘तुलनात्मक रुपमा छिटो र काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय रेलमार्गसँग जोड्न सम्भव हुन्छ ।’ उनले आगामी ६ महिनाभित्र रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन बनाइसक्ने र त्यसपछि निर्माण प्रक्रिया अघि बढ्ने बताए ।

भाजपा नेता भन्छन—काठमाडौंमा रेल आउनुपर्छ

भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी नेपाल भ्रमण आएका बेला काठमाडौं उपत्यकामा रेल आउनुपर्ने अभिव्यक्ति दिएका थिए । उनले केपी ओली नेतृत्वको सरकारबाट नेपालीले ठूलो अपेक्षा गरेकाले आर्थिक समृद्धिका लागि भारत सहयोग गर्न तयार रहेको बताएका थिए । अन्तर्राष्ट्रिय रेल मार्गसँग नेपाललाई जोड्न र दुईदेशीय कुटनीतिक सम्वन्ध सुधारका पक्षमा भारत रहेको उनले बताएका थिए ।

विभाग र महासङ्घ रक्सौल—काठमाडौं रेलमार्गमा एकमत

रक्सौल—काठमाडौं रेलमार्ग निर्माणका लागि रेल विभाग मात्रै होइन, नेपाल उद्योग वाणिज्य महासङ्घले पनि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा प्राथमिकता दिनुपर्ने बताएको छ । नेपालको आर्थिक समृद्धिका लागि भारतीय नाकाबाट काठमाडौं उपत्यकासम्म रेलमार्ग आवश्यक रहेको महासङ्घका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइ छ । उनले अन्य नाकाहरुमा समस्या हुने र वीरगन्जबाट मात्रै कार्गो ल्याउन सकिने भएकाले पनि भारतीयसँग यस विषयलाई प्रमुखताका साथ उठाउनुपर्ने बताए । ‘कोलकातामा पनि ठूलो रेलको समस्या छ । ट्रकबाट ल्याउन बल्क कार्गाेको सम्भावनै छैन’ गोल्छाले भने, ‘नेपालका नाकाहरुमा वीरगन्जबाट मात्रै बल्क कार्गाे आउन सक्छ । अरुतिर अनुमति छैन । त्यस्का लागि प्रधानमन्त्रीले आगामी भ्रमणमा विषय उठाउनु आवश्यक छ ।’
काठमाडौंदेखि वीरगन्ज रक्सौलसम्म बन्ने रेलमार्ग ९४ किलोमिटर रहेको छ । गत आर्थिक बर्षको बजेटमा व्यवस्था अनुसार रक्सौल—काठमाडौं रेल निर्माणको सम्भाव्यता अध्ययनका लागि टेण्डर आह्वान गरेको थियो ।