आजदेखि दोस्रो सहकारी महासम्मेलन, केपी ओलीले उद्घाटन गर्ने

मुलुकभर रहेका साढे ३४ हजार सहकारी संस्थाले करिब पाँच अर्ब रुपैयाँ पूँजी परिचलान गरेका छन् । लगानीका नयाँ क्षेत्र पहिचानको विषय पनि एजेन्डामा छ । सहकारीमार्फत दिगो विकास लक्ष्य प्राप्तिका लागि विकास साझेदारको रणनीतिक संलग्नता, सहकारीबीचको व्यावसायिक मोड, चुनौती र सम्भावना, सुशासनः सहकारीको दिगोपना, नेपालको सहकारी अभियान २०२२ सम्मको कार्यदिशाका बारेमा गम्भीर बहस हुनेछ ।

मुलुक सङ्घीय संरचना गएसँगै नयाँ व्यवस्था अनुसार सहकारी अभियानको दीर्घकालीन रणनीति बनाउनका लागि आज(बुधबार)देखि राजधानीमा दोस्रो सहकारी महासम्मेलन सुरु हुँदैछ । सहकारी क्षेत्रका समस्या पहिचान गरी नयाँ रणनीति तय गर्नको लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा सम्मेलनको आयोजना गरेका हुन् ।

आयोजकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने सम्मेलनमा सहभागी हुन स्वदेशसहित विदेशका गरी करिब एक हजार सहकारी अभियन्ता आज राजधानीमा आएका छन् । भारत, चीन, जापान, कोरिया, मलेसिया, सिङ्गापुर, श्रीलङ्का, पाकिस्तान र इन्डोनेसियाका सहकारी अभियन्ता लगायत देशका ७३ जिल्लाका प्रतिनिधि सम्मेलनमा सहभागी हुने राष्ट्रिय सहकारी महासङ्घले जनाएको छ । दुई दिनसम्म चल्ने चल्ने सम्मेलनमा सहकारी क्षेत्रका स्वदेशी तथा विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत तथा छलफल गर्नेछन् ।

मुलुकभर रहेका साढे ३४ हजार सहकारी संस्थाले करिब पाँच अर्ब रुपैयाँ पूँजी परिचलान गरेका छन् । लगानीका नयाँ क्षेत्र पहिचानको विषय पनि एजेन्डामा छ । सहकारीमार्फत दिगो विकास लक्ष्य प्राप्तिका लागि विकास साझेदारको रणीनितिक संलग्नता, सहकारीबीचको व्यावसायिक मोड, चुनौती र सम्भावना, सुशासनः सहकारीको दिगोपना, नेपालको सहकारी अभियान २०२२ सम्मको कार्यदिशाका बारेमा गम्भीर बहस हुनेछ ।

सहकारीको प्रवर्द्धनमा सरकारका विभिन्न तहको भूमिका, दिगो विकास लक्ष्य र यसको कार्यान्वनय, वित्तीय सहकारी, चुनौती र सम्भावना, सहकारीमा महिला र युवाको सहभागिता, ,सम्मेलनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको योगदान वृद्धि, सहकारी क्षेत्रमार्फत औद्योगीकीकरणमा योगदान लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएका छन् । सम्मेलनमा विगतका उपलब्धिको समीक्षा गर्दै सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको रणनीति तयार गर्ने योजना छ ।