वेभलेन्स नमिलेपछि उद्योग मन्त्री यादवद्वारा विभागका डिजीको सरुवा

बजार अनुमगन रोक्न दबाब दिँदै आएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादबले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेका छन् ।

मन्त्रीको निर्देशनलाई अटेर गर्दै नर्भिक अस्पताल लगायतका ठूला कर्पोरेट क्षेत्रमा अनुगमनलाई तिब्रता दिने प्रयास गरेपछि मन्त्री यादबले दाहाललाई मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेका छन् ।

तत्कालिन आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा विभागले काठमाडौंको दरबारमार्गमा ब्राण्डेड सोरुममा छापा मारेपछि निजी क्षेत्रले बजार अनुगमन रोक्न दबाब दिँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका व्यवसायिक संस्थाका नेताले अनुगमन रोक्न दबाब दिँदै आएका थिए । दाहालको सरुवा गरेर सूचना आयोगका सह–सचिवलाई विभागमा ल्याइएको छ ।

सुशासनको पक्षमा अडान लिने बताउँदै आएका मन्त्री यादवले बजारको बढ्दो बेथितीलाई रोक्नुको सट्टा व्यापारीका कुरा सुनेको मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रीसँग वेभलेन्स नमिलेपछि आफ्नो सरुवा भएको दाहालले बताए । ‘बजारका समस्याको बारेमा एक दिन पनि मसँग छलफल गर्नु भएन,’ दाहालले भने ‘सायद मसँग वेभलेन्स नमिलेर सरुवा गर्नु भएको होला ।’ सरकार सुशासनको पक्षमा उभिने हो भने अनुगमन रोक्न नहुने दाहालले बताए । दाहालको नेतृत्वमा पछिल्लो समय कर्पोरेट हाउस, ठूला लगानीका निजी बोर्डिङ, अस्पतालमा पनि अनुगमन गरेर चर्को असुल्नेलाई कारबाहीको दायरामा ल्याउने प्रयास गरेका थिए ।