क्यापिटलकर्मी बञ्जारालाई सम्मान

क्यापिटल बिजनेस म्यागजिनका संवाददाता विनय बञ्जारालाई नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सम्मान गरेको छ । ‘अभौतिक मुद्रा, अदृश्य लगानी’ शीर्षकमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीको नेपालमा कारोबार भइरहेको छ भन्ने समाचारका लागि सेजनले उनलाई प्रोत्साहन सम्मान प्रदान गरेको हो ।

त्यसैगरी नागरिक दैनिकका संवाददाता दिलीप पौडल पनि सेजन अवार्डबाट सम्मानित भएका छन् । उनले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा घोटाला भएको भन्ने समाचार लेखेका थिए । सोही समाचारबाट उनी सम्मानित भएका हुन् ।

कान्तिपुर दैनिकका संवाददाता कृष्ण आचार्य पनि योगगुरु रामदेवको गैरकानुनी लगानीसम्बन्धी समाचारमा सम्मानित भएका छन् । कर्पोरेट नेपालका सम्पादक सीताराम विलासीलाई बूढीगण्डकीबारे समाचार लेखेबापत सेजनले सम्मान गरेको हो । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका संवाददाता किरण भट्टराई मलेसिया जाने कामदारमाथि अतिरक्त शुल्क भन्ने समाचारमा सेजनले सम्मान गरेको छ ।

सेजनको २०औं स्थापना दिवसको अवसरमा पाँचजना आर्थिक पत्रकारलाई सम्मान गरिएको हो । उक्त अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सबै पत्रकारलाई सम्मान गरेका हुन् । सेजनले आफ्नो स्थापना दिवसका दिन हरेक वर्ष चारजना पत्रकारलाई सम्मान गर्दै आएको छ । छापा माध्यमबाट एक र विद्युतीय माध्यमबाट एक जनालाई सम्मानित गर्ने व्यवस्था भए पनि यसपटक छापाबाट तीन र विद्युतीय माध्यमबाट एक र राससबाट एकजना सम्मानित भएका छन् ।

त्यसैगरी,  सेजनले पूर्वअध्यक्षहरूलाइ पनि सम्मान गरेकाे छ । पूर्व अध्यक्षलाइ नेपाल राष्ट्रबैङ्कका गभर्नर चिरञ्जीवि नेपालले सम्मान गरेका हुन ।