जर्मन बियरको नेपाल प्रवेश, ‘चियर्स’लाई ‘प्रोस्ट’मा बदल्दै वार्सटाइनर

अल्बर्ट आइन्स्टाइन, कार्ल माक्र्स, बर्लिनको पर्खाल र बियरको देशले चिनिने जर्मनीसँग नेपालको कुटनीतिक सम्बन्ध गाँसिएको अप्रिल ४ मा ६० वर्ष भएको छ । संयोग त्यही दिन, अर्थात् अप्रिल ४ मै विश्वव्यापी प्रख्यात जर्मनी बियर वार्सटाइनरको उद्योग नेपालमा उद्घाटन भयो ।

नेपालबाट ४ हजार माइलभन्दा टाढा जर्मनी, यो भौगोलिक दूरी अहिले विभिन्न माध्यमले छोटिएको छ । अल्बर्ट आइन्स्टाइन, कार्ल माक्र्स, बर्लिनको पर्खाल र बियरको देशले चिनिने जर्मनीसँग नेपालको कुटनीतिक सम्बन्ध गाँसिएको अप्रिल ४ मा ६० वर्ष भएको छ । संयोग त्यही दिन, अर्थात् अप्रिल ४ मै विश्वव्यापी प्रख्यात जर्मनी बियर वार्सटाइनरको उद्योग नेपालमा उद्घाटन भयो ।

वार्सटाइनरको नवौं पुस्ताले चलाएको यो बियरको नेपाल नाता जावलाखेल गु्रपको छैटौं पुस्तासँग गाँसिएको हो । जावलाखेल गु्रपअन्तर्गतको राज बु्अरीले ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा स्थापना गरेको नवलपरासी जिल्लाको हकुईस्थित उद्योग बुधवार वार्सटाइनर बियर जर्मनीकी अध्यक्ष क्याथरिना क्र्यामर, जावलाखेल गु्रपकी अध्यक्ष म्यागी शाह र राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले संयुक्त रुपमा उद्घाटन गरे ।

नेपालमा लिक्वेयर किङका रुपमा चिनिने शाहको बियर–बजारमा प्रवेश अन्तर्राष्ट्रिय ब्रान्डबाट नै भएको छ । नेपालमा रुस्लान भोड्कालाई सर्वप्रिय ब्रान्डका रुपमा स्थापित गराएका शाह परिवारले नै कम्पनीलाई पारिवारिक व्यवसायको रुपमा अगाडि बढाउँदै लगेका छन् । सयभन्दा बढी मुलुकमा पुगेको वार्सटाइनरलाई नेपालमै अन्तर्राष्ट्रियस्तरको उद्योग संरचनामा शाहले उत्पादन थालेका हुन् ।

११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगलाई वल्र्ड क्लास गराउन जर्मनीको कम्पनी र जावलाखेल गु्रपले ठूलो लगानी मात्र होइन, समय पनि ३ वर्षभन्दा बढी खर्च गर्यो । नेपालमा बियर उत्पादनका लागि पानीको गुणस्तरदेखि भूँइमा ओछ्याउने टायलसम्म जर्मन कम्पनीको मापदण्डअनुसार गर्नुपर्ने भएकाले जावलाखेल गु्रपले कुनै पनि कुरामा सम्झौता नगरी समय र पैसा खर्चियो ।

वार्सटाइनरकी अध्यक्ष क्याथरिनाले नेपाली बजारमा जर्मनको कोशेली प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताइन् । ‘हामीले कुनै पनि कुरामा सम्झौता गरेका छैनौं, जस्तो स्वाद जर्मन वा अरु मुलुकका बियरपारखीले लिन्छन् त्यहि स्वाद नेपाली बियरपारखीका लागि उपलब्ध हुन्छ’, उनले भनिन्, ‘यही गुणस्तरका लागि पनि यहाँ उत्पादन हुन केही ढिला भएको हो । जर्मनीमा मात्र बियरका ४ सय ब्रान्डहरु छन्, तर शाहले वार्सटाइनर नै रोज्नुको कारण यसप्रति लभ एट फस्र्ट साइट भएको उनले बताइन् ।

क्याथरिना वार्सटाइनर बियर सम्हाल्ने क्र्यामर परिवारकी नवौं पुस्ता हुन् । उनी वार्सटाइनर ग्रुपको उच्च पदमा पुग्ने पहिलो महिलासमेत हुन् । सन् १७५३ देखि वार्सटाइनरको उत्पादन सुरु भएको हो । किसान परिवारका एनटोनिअस क्र्यामरले पहिलोपटक आफ्नै घरमा बियर उत्पादन गरेर उपभोग गरेका थिए । बियर बनाएर उपभोग गर्दा सरकारलाई कर तिर्नुपर्छ भनेर उनी नै पहिलो पटक अघि सरेका थिए । एनटोनिअसले आफैले बियर उत्पादन गरेर ट्याक्स तिरेर आफैलाई बेचे । सामान्य रुपमा उत्पादन सुरु भएको बियर अहिले सयभन्दा बढी मुलुकमा निर्यात हुन्छ । वार्षिक २.३४ मिलियन हेक्टोलिटर उत्पादन हुने यो बियरको वार्षिक आम्दानी ५ हजार मिलियन युरो छ ।

 

नेपाल भित्र्याएको जावलाखेल गु्रपको इतिहास पनि मदिरा उत्पादनसँगै जोडिन्छ । राज शाहका जिजुहजुरबुवा पनि मदिरा उत्पादन गर्ने असाध्यै राम्रो सीप र कला भएको व्यक्ति रहेको जावलाखेल गु्रपकी अध्यक्ष म्यागी शाहले बताइन् । ‘यो हाम्रो पारिवारिक व्यवसाय हो, यो निरन्तर अगाडि जान्छ’, उनले भनिन् ।

राज शाहका जिजुहजुरबुवा, हजुरबुवा रामनारायण शाहदेखि बुवा विजय शाहसम्म आइपुग्दा मदिरा उत्पादनमा आधुनिक र ब्रान्डहरु स्थापित भैसकेका थिए । हजुरबुवा रामनारायण शाहले कन्ट्री लिक्वेयर उत्पादन गर्ने चुलाई सञ्चालन गरेका थिए । सन् १९६० को दशकमा नेपालगञ्जबाट जावलाखेल आएर जावलाखेल ड्राई जिन उत्पादन गरे ।

सन् १९६९ मा विजयकुमार शाह अमेरिकाबाट पढेर नेपाल आएपछि मदिरा उत्पादनमा नयाँ सीप र प्रविधि पनि भित्रियो । उनले आफूसँगै स्पिरिटलाई शुद्ध पारेर छान्ने तामाको आधुनिक डिष्टिलेसन युनिटको ब्लू–प्रिन्ट पनि लिएर आए । मदिरा उत्पादनमा नयाँ आयाम थपे । अहिले जावलाखेल गु्रप अफ इन्डस्ट्रिजअन्तर्गत हाम्रो हिमालयन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी र अहिले राज बु्रअरी आइपुगेको छ ।

राज ब्रुअरीले उत्पादन गर्ने वार्सटाइनर बियरको बजारीकरणका लागि यसअघिको नेटवर्क र रुस्लानले पाएको सफलताले सहज हुने राज शाह बताउँछन् । ‘यो नेपालमा उत्पादनका हिसाबले महँगो हो तर हामीले सबै वर्गका बियरपारखीका लागि मूल्य तय गरेका छौं’, उनले भने । ‘हाम्रा धेरै उत्पादन बहुसङ्ख्यक नेपालीले मनपराएका छन्, यो पनि चाँडै स्थापित हुन्छ’, उनले भने ।

‘हामीले ५ वर्षदेखि उद्योग स्थापनाका लागि समय लगायौं, ३ अर्ब ५० करोड रुपैयाँको लगानी छ, चाँडै उद्योगको क्षमता बढाएर ५ अर्ब पुराउँछौं’, शाहले भने । यस्तो उद्योग नेपालमा मात्र होइन एसियामा नै लगाउन गाहे रहेको उनले बताए । ‘गुणस्तरमा सम्झौता छैन, जर्मन कम्पनीले कच्चापदार्थ जहाँबाट लिन्छ हामीले पनि त्यहिँबाट लिन्छौं’, उनले भने । पानीबाहेक सबै कुरा जर्मनीबाट नै ल्याइएको उनले बताए ।

गुणस्तर कायम राख्न जर्मनीकै ३० वर्ष अनुभवी ब्रुअरी मास्टरलाई प्रत्यक्ष निगरानीमा राखिएको छ । उत्पादन भैसकेपछि प्रत्येक ब्याचको १२ ओटा नमुना परीक्षण गर्न वार्सटाइनर जर्मनीकै ल्याबमा पठाउन थालिएको छ ।

नेपालस्थित जर्मन दूतावासकी उपप्रमुख डा. क्लाउडियाले जर्मनको सीप र प्रविधि नेपाल भित्रिएको बताइन् । ‘उद्योग स्थापना भएर रोजगारी बढेको छ, अब यसको निर्यातमा पनि ध्यान दिनुपर्छ’, उनले भनिन् ।

एक घण्टामा १५ हजार बोतल उत्पादन हुने क्षमता रहेको उद्योग पूर्णरुपमा अटोमेटिक सिष्टममा चल्छ । दुई सय ६५ वर्ष पुरानो यो बियरको नेपाली बजार प्रवेशसँगै बियरमा नयाँ प्रतिस्पर्धा पनि सुरु हुने भएको हो । राज भन्छन्, ‘गिलासमा रहेको ह्यान्डलमा औंला छिराएर चियर्स भन्ने बियरपारखीहरुले छिट्टै वार्सटाइनरको स्लिम गिलासमा पाउर्ड गरेको बियरलाई प्रोस्ट भन्ने छन् ।