१ सय ५ मेगावाट क्षमताको तल्लो सेतीको प्रारम्भिक सर्भे सकियो, अनुमानित लागत २२ अर्ब रुपैयाँ

तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउने लागेको उक्त आयोजना एक सय ५ मेगावाट विद्युत् क्षमताको हो । आयोजनामा एसियाली विकास बैङ्क (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानी गर्ने रुचि देखाएको छ ।

तनहुँमा तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएको छ । तनहुँ जलविद्युत् आयोजनाको क्यास्केटमा निर्माण हुने आयोजनाको प्रारम्भिक सर्भे भइसकेको छ । तनहुँ जलविद्युत् आयोजनाभन्दा २० किलोमिटर तल निर्माण हुने उक्त आयोजनाको डिटेल सर्भे, भौतिक अध्ययन र डिजाइन पनि छिट्टै हुने तनहुँ हाइड्रोपावर लिमिटेडका इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

‘तनहुँ हाइड्रोकै क्यास्केटमै तल्लो सेतीको प्रारम्भिक सर्भे भएको छ,’ उनले भने, ‘विस्तृत अध्ययन, सर्भे र डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले आगामी वैशाख २ गते गर्ने बताएको छ ।’

तनहुँ जलविद्युत् आयोजना केही महँगो भएकाले तल्लो आयोजना निर्माणपछि केही फाइदा हुने अपेक्षा रहेको अधिकारीले बताए । ‘तनहुँ हाइड्रोबाट खेर गएको पानी तल्लो सेतीमा उपयोग गर्ने उद्देश्यले आयोजना बनाउन आवश्यक छ’, उनले भने, ‘तनहुँ हाइड्रोभन्दा यसबाट केही बढी लाभ लिन सकिन्छ भनेर तल्लो सेती बनाउँदै छौँ ।’

आयोजना प्रभावित तीन ठाउँमध्ये कुनमा आयोजना बनाउने भन्ने डिजाइन अझै बन्न नसकेको तनहुँ हाइड्रो लिमिटेडका इन्चार्ज अधिकारीले बताए । ‘आयोजनाकाका लागि तीनओटा क्षेत्र छान्दै छौँ, जुन ठाउँमा जग्गाको क्षति कम हुन्छ, त्यसैमा आयोजना बन्छ ।’

तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउने लागेको उक्त आयोजना एक सय ५ मेगावाट विद्युत् क्षमताको हो । आयोजनामा एसियाली विकास बैङ्क (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले लगानी गर्ने रुचि देखाएको अधिकारीले जानकारी दिए । अर्धजलाशययुक्त आयोजनाको २२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उक्त आयोजनामा सर्वसाधारणले लगानी गर्नेछन् ।