नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि सुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए ।

नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि सुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए ।

अङ्ग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको शाक्यले बताए ।

बिहीबार साँझदेखि सुरु भएको महोत्सवको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख रेणू दाहालले गरेकी थिइन् । नेवाः पुचः नारायणगढको आयोजनामा भइरहेको यो महोत्सवमा विभिन्न खानाका परिकारसहित ६० अाेटा स्टल राखिएका छन् भने चार अाेटा विशेष स्टल छन् ।

फेस्टिबलमा करिब २५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘क्याम्पाचौर जाऔँ, नयाँ वर्ष मनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना भएको खाना महोत्सवमा नेवारीलगायत विभिन्न जातजातिको खाना प्रदर्शन गरिएको छ । यस अतिरिक्त राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

यसअघि नेवाः पुचःले चितवन महोत्सवका बेला खाना महोत्सव गर्दै आएको थियो ।