२०७४ ले राजनीतिक स्थिरता दियो, २०७५ देखि केही हुँदै छ

मुलुकमा नयाँ संविधान आउने/नआउने अनिश्चितता कायमै थियो । त्यहीबीचमा २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गयो । त्यसबाट जनधनमा ठूलो क्षति पुग्यो । भूकम्पपछि ठूला राजनीतिक दलहरु (काङ्ग्रेस, एमाले र एमाओवादी) संविधान कुनै पनि मूल्यमा जारी गर्ने र आवश्यक परेपछि संशोधन गर्दै जान सहमत भए ।

परिणामस्वरुप २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । २००७ सालमा राणाशासन फाल्दा सुरु भएको जनता आफैंले संविधानसभाबाट संविधान बनाउने सपना २०७२ सालमा आएर पूरा भयो । तर, मुलुकले त्यसपछि पनि गति लिन सकेन, नयाँ खालको सङ्क्रमण आरम्भ भयो । आफ्नो सहमतिबेगर संविधान जारी गरेको भन्दै नेपालका मधेशवादी दलहरुलाई देखाएर भारतले अघोषित नाकाबन्दी लगायो । भूकम्पको पीडासँगै करिब ६ महिना लामो नाकाबन्दीले मुलुकको आर्थिक गतिविधि तहसनहस हुन पुग्यो । त्यस वर्ष आर्थिक वृद्धि ०.०१ प्रतिशतमा खुम्चियो । अघिल्लो वर्ष शून्यमा रहेकाले गत वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि प्राप्त भयो । चालू वर्ष पनि ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण छ । बितेको दशकमा औसत ४ प्रतिशत आर्थिक वृद्धि भएको बेला यो परिमाणको वृद्धि उत्साहजनक हो ।

सङ्क्रमण अन्त्य गर्नेतर्फ राजनीतिक दलहरु अग्रसर हुँदा संविधानले तोकेकै समयसीमाभित्र स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएर तीन तहमा सरकारहरु पूर्ण रुपले काम गर्न थालिसकेका छन् । अझै पनि कतिपय कानुनहरु निर्माण भइसकेका छैनन्, जसले गर्दा लगानीकर्तामा द्विविधा अद्यापि कायम छन् । तर, यहीबीचमा पनि धेरै कामहरु देखिने गरी सरकारी पक्ष र निजीक्षेत्रबाट अघि बढेका छन् । कठिन परिस्थिति हुँदाहुँदै पनि लाइफलाइनका रुपमा लिइएको नारायणगढ–मुग्लिङ सडकखण्डको काम सकिने चरणमा छ । मेलम्ची खानेपानी आयोजना, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा क्षेत्रीय विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । भैरहवाकै विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको चरणमा पुगेको छ । यसले पनि औद्योगिक विस्तारमा सहयोग गर्ने नै छ ।

यातायातका क्षेत्रमा ठूला सवारीसाधन साझा, मयूर, महानगर, सिटी, मेट्रोजस्ता ठूला सार्वजनिक यातायात सेवाको प्रवेशले लगानीकर्तामा थप उत्साह थपेको मात्र छैन, सर्वसाधारण जनतामा पनि केही त परिवर्तन भएको छ भन्ने महसुस गर्ने वातावरण तयार भएको छ । २०७१ चैतमा यात्रुवाहक सवारीमा १० अर्ब ६ करोड ७० लाख लगानी भएकोमा गएको झन्डै ३ वर्ष (२०७४ माघसम्म) साढे ६ अर्ब लगानी बढेर १६ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ पुगको छ ।

यस अवधिमा लगानी बढ्ने क्रम जलविद्युत् क्षेत्रमा पनि उच्च छ । विभिन्न कठिनाइहरुलाई चिर्दै निजीक्षेत्रबाट जलविद्युत् क्षेत्रमा २०७१ चैतमा २८ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ लगानी भएकोमा २०७४ माघसम्म ३ वर्षको अवधिमा करिब ४० अर्बले बढेर ६८ अर्ब १४ करोड २२ लाख रुपैयाँ पुगेको छ । यसले जलविद्युत् क्षेत्रमा लगानी भित्रिने क्रम अझ बढ्दो छ भन्ने देखाउँछ ।
चौधरी गु्रपले बर्दिया र सुनसरीमा वाइवाई चाउचाउको प्लान्ट सञ्चालनमा ल्याएको छ । भारतीय मोटरसाइकल कम्पनी बजाजका मोटरसाइकल नेपालमै एम्सेबल गरेर उत्पादन र बिक्री गर्न थालेको छ । २५ करोड अधिकृत पुँजीमा स्थापना भएको कम्पनीले १ सय २५ सिसीका बजाज डिस्कभर, प्लाटिना र १ सय ५० सिसीको पल्सर मोटरसाइकल उत्पादन गरिरहेको छ । युनिलिभर नेपालले पनि यसै अवधिमा डभ साबुन र स्याम्पोलगायत थप ब्रान्ड नयाँ उत्पादन थालेको छ ।

अर्थशास्त्री प्राडा. गोविन्द नेपाल कठिन परिस्थितिका बाबजुद पनि बितेका ३ वर्षमा निजीक्षेत्रबाट उल्लेख्य लगानी भित्रिएकाले अबका दिन लगानीकर्ताका लागि सुनौलो रहेको बताउँछन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्तामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीका लागि आह्वान गरिरहनुभएको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य र अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार सम्हालिइसकेका उनले भने, ‘सरकारले लगानीकर्ताका समस्या समाधानमा पनि अग्रसर भएर लाग्ने अवस्था बनेको छ ।’ प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमणका क्रममा पनि लगानीकर्तालाई नेपालमा लगानी गरेर अवसरको फाइदा लिन आह्वान गरेका थिए ।

नेपालको एमएस समूहले सिरहामा सबैभन्दा बढी क्षमताको र पहिलोपटक ‘केमिकल फ्री’ चिनी उत्पादनका लागि उद्योग स्थापना गरेर सञ्चालनमा ल्याएको छ । समूहले सिरहाको पानवाणीमा ५८ बिघा क्षेत्रफलमा डेढ अर्ब लगानीको हिमालय सुगर उद्योग स्थापना गरेको हो । समूहले नेपाल हस्पिटालिटी गु्रप प्रालिमार्फत ठमेलमा फेयरफिल्ड म्यारियट होटल सञ्चालनमा ल्याएको छ । नक्सालमा पाँचतारे होटल निर्माणको अन्तिम चरणमा पु¥याएको छ । चिनी उद्योग र होटलमा गरेर पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी यो समूहले यही अवधिमा गरेको छ ।

शङ्कर समूहको ३ अर्ब ५० करोड लगानीमा नक्सालमा बनाउन लागिएको पाँचतारे होटल, एनई गु्रप र सोल्टीको संयुक्त लगानीको सोल्टी सिवक्रिम होटेल्स एन्ड रिसोर्ट प्रालिले काठमाडौंबाहिर नेपालगन्जमा होटल सञ्चालनमा ल्याएको छ । त्यसैगरी भैरहवामा सिल्भर हेरिटेजले टाइगर प्यालेस होटल सञ्चालनमा ल्याएको छ ।

हवाई सेवातर्फ प्रभु हेलिकप्टर, अल्टिच्युड हेलिकप्टर, कैलाश हेलिकप्टर, हेली एभरेस्ट यसै अवधिमा थपिएका छन् । श्री एयरलाइन्सले फिक्स विङ्ग्स जहाजमार्फत उड्डयन व्यवसायमा लगानी बढाएको छ । सौर्य एयरलायन्स पनि यहीबीचमा थपिएको छ । तिब्बत एयरलाइन्स र नेपाली व्यवसायीको संयुक्त लगानी हिमालय एयरलाइन्सले नेपालमा सेवा सुरु गरेको छ ।

शिवम् सिमेन्टले चीनको होङ्सी गु्रपसँग मिलेर सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । ३६ अर्ब लगानी रहेको होङ्सीले पहिलो पटक सर्वसाधारणमा सेयर जारी गर्ने गरी प्रक्रिया अघि बढाएको छ । यसले ठूला लगानीकर्ता मात्र होइन, सर्वसाधारण लगानीकर्तामा पनि नयाँ जोश र उमङ्ग भरेको छ । मुलुकको सङ्क्रमणकालीन अवस्थाका बाबजुद अर्घाखाँची सिमेन्टले ४ अर्ब रुपैयाँ लगानी थप गरेर उद्योगको क्षमता विस्तार गरेको छ भने निम्बस ग्रुपले पनि ४ अर्ब रुपैयाँ लगानी थपेको छ ।

जलविद्युत् क्षेत्रमा ठूलो फड्को मारेको सो समूहले होटेल र रिसोर्टमा मात्र ५० अर्ब रुपैयाँ लगानीको घोषणा गरिसकेको छ । यसमा कति आयोजना निर्माणाधीन छन् भने कति कार्यान्वयनमा जाने तर्खरमा छन् ।

नेपालमा लगानीको वातावरण छैन भन्नेहरुका लागि गतिलो जवाफ निजीक्षेत्रले दिएको छ । चन्द्रागिरि केबलकार निर्माण भई सञ्चालनमा आइसकेको छ । व्यापारको दुनियाँमा भाटभटेनीले पोखरा, बुटवल, धरान, नारायणगढमा यहीबीचमा व्यावसाय विस्तार गरेको छ । भारतीय लगानीको यूटीएल टेलिकम पनि नेपाली व्यवसायीले यहीबीचमा खरिद गरेका छन् ।
यहीबीचमा बिमाक्षेत्रमा पनि नयाँ कम्पनीहरु थपिएका छन् । २ अर्ब चुक्ता पुँजी हुने गरी आठओटा जीवन बिमा कम्पनी आएका छन् । तिनको पुँजी मात्रै १६ अर्ब रुपैयाँ हुन्छ । त्यसैगरी एक अर्ब चुक्ता पुँजीका तीनओटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा आउने तर्खरमा छन् । नेपालीकै लगानीमा खुलेको नेपाल पुनर्बिमा कम्पनीले भारतमा समेत सेवा विस्तार गर्ने सुविधा यहीबीचमा प्राप्त गरेको छ । यसबाट बिमा व्यवसाय थप प्रतिस्पर्धी बन्ने र नेपालमा लगानीको सुरक्षा छ भन्ने सन्देश जाने विश्वास गर्न सकिन्छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले यहीबीचमा उच्च दरमा पुँजी थपेर सक्षम र बजबुत बन्न बाटो खोलेका छन् । २ अर्बका वाणिज्य बैङ्कको न्यूनतम चुक्ता पुँजी ८७ अर्ब पुगेको छ । यसले वित्तीय क्षेत्रको पुँजी परिचालनमा सहजता ल्याएको छ । अत्यन्तै न्यून रहेको नेपालको बैङ्क तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि भएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क मुलुकहरु)का वित्तीय संस्थाकै हाराहारीमा चुक्ता पुँजी पु¥याएका छन् । २०७१ चैतमा १ खर्ब ६४ अर्ब १० करोड ९४ लाख रुपैयाँ पुँजीकोष (क्यापिटल फन्ड) रहेका बैङ्कहरुसँग २०७४ मङ्सिरमा आइपुग्दा ३ खर्ब ६० अर्ब ३० करोड २६ लाख रुपैयाँ पुगेको छ । तीन वर्षको बीचमा बैङ्कहरुको पुँजीकोष दोब्बरभन्दा बढीले बढेको छ । उता, वाणिज्य बैङ्कहरुको ७ सय ५३ ओटै स्थानीय तहमा कम्तीमा एउटा शाखा पुग्नेछ । यसबीचमा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित पूर्वाधार विकास बैङ्क खोल्ने अन्तिम तयारीमा छ । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको पूर्वाधार विकास बैङ्कले पूर्वाधारका क्षेत्रमा लगानी गर्नेछ । पूर्वाधार विकास बैङ्क खोल्नका लागि केन्द्रीय बैङ्कले प्रक्रिया अघि बढाइसकेको छ ।

अर्थशास्त्री केशव आचार्य पनि आगामी वर्ष लगानीकर्ताका लागि सुनौलो रहेको बताउँछन् । ‘राजनीतिक वातावरण स्थिरतातर्फ उन्मुख भएकाले अब लगानी गर्ने वातावरण बन्दै गएको छ । केही कानुनी अवरोध छन् भने परिवर्तन गनुपर्छ,’ अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारसमेत रहिसकेका आचार्यले भने, ‘अत्यन्तै कठिन क्षणहरुमा समेत लगानी भित्रिएको थियो । अब त झन् स्थिर सरकार छ । स्थिर सरकार भएपछि नीति पनि स्थिर हुन्छ ।’ पछिल्लो समयमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढ्दै गएको छ । २०७४ माघसम्म यस्तो लगानी १४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यो विगत वर्षहरुको भन्दा बढी हो ।

फागुन ३ मा नयाँ सरकार बनिसकेपछि सरकारी तबरबाट पनि सुधार प्रयासहरु सुरु भएको देखिन्छ । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्न सरकारले तदारुकता देखाएको छ । यसले सर्वसाधारणले सुविधा पाउनुका साथै यातायात व्यवसाय प्रतिस्पर्धात्मक हुनेछ । केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर लगानीकर्तालाई सरकारी नीतिमा कुनै कमजोरी भए त्यसलाई समाधान गर्न पहल गर्ने बताएका थिए । यसबाट आगामी वर्ष सेयर लगानीकर्ताका लागि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।