नौ महिनामा वैदेशिक रोजगारीमा गएका ६ सयको मृत्यु

साउदीमा १ सय ५५, मलेसियामा २ सय १०, यूएईमा ६९, बहराइनमा सात, दक्षिण कोरियामा १८, कुवेतमा १४, कतारमा ९२ र अन्य मुलुकमा ४४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्क छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये चालू आर्थिक वर्षको ९ महिनामा ६ सय ९ को मृत्यु भएको छ । विभिन्न मुलुकमा मृत्यु भएकामध्ये महिला १५ र पुरुष पाँच सय ९४ रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी मलेसियामा दुई सय १० जनाको मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए ।

साउदीमा १ सय ५५, मलेसियामा २ सय १०, यूएईमा ६९, बहराइनमा सात, दक्षिण कोरियामा १८, कुवेतमा १४, कतारमा ९२ र अन्य मुलुकमा ४४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्क छ ।

मृत्यु भएकामध्ये ९९ जनाले आत्महत्या गरेको र प्राकृतिक कारणबाट ९८ जनाको मृत्यु भएको छ । यसमा अत्महत्या गर्नेमा मलेसिया गएका नेपाली कामदार बढी छन् । मृत्यु भएका ६ सय सातमध्ये ट्राफिक दुर्घटनामा परी ९३, विभिन्न रोगका कारण ४७, प्राकृतिक दुर्घटनाबाट ९८, हृदयाघातका कारण एक सय ४७, हत्या, बलत्कारलगायत कारणबाट ३ सय २४ जनाको मृत्यु भएको काफ्लेले बताए ।

वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाका परिवार÷आफन्तले रोजगार प्रवद्र्धन बोर्डले दिने आर्थिक सहायताको रकम भने लिइसकेका छन् । ६ सय सात मृतकका लागि बोर्डले गत शुक्रबारसम्म ३२ करोड ६१ लाख ८० हजार रुपैयाँ दिएको उनले जानकारी दिए ।

गत आवको असार मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा सात सय ५६ जनाको मृत्यु भएको थियो । चालू आवको सोही अवधिसम्म उक्त सङ्ख्या बढ्ने देखिएको बोर्डको अनुमान छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक दुईदेखि तीनओटा शव गरेको बोर्डको भनाइ छ । त्यसमध्ये विशेषगरी खाडी मुलुकमा गएका कामदार रहने गरेको बोर्डले बताएको छ । कतिपय शव भने विभिन्न दूतावासले जानकारी नदिई नेपाल पठाउने गरेको काफ्लेको भनाइ छ ।