जापान, क्यानडा, पोर्चुगल, लेबनान र बेलायतमा भने श्रम स्वीकृति लिएर रोजगारीमा गएको पाइएको छैन । यी देशमा नेपालीहरु विद्यार्थी भिसामा जाने गरेकाले यस्तो पाइएको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या घट्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दोस्रो चौमाससम्म २६ हजार चार सय एक जना कामदार रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका छन् । यीमध्ये महिला एक हजार चार सय ८१ र पुरुष २४ हजार नौ सय १३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यो सङ्ख्या माघको तुलनामा दुई हजार १४ जनाले कम हो । माघमा भने २८ हजार चार सय १५ नेपाली रोजगारीमा गएका थिए । त्यस्तै पुसमा २७ हजार तीन सय जना विभिन्न मुलुक गएका थिए ।
चालू आर्थिक वर्षको पुस र माघको तुलनामा फागुन महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेको छ । चालू आर्थिक वर्षको पुस र माघ महिनाको तुलनामा फागुनमा श्रम स्वीकृति लिने एक हजार ३५ जना पुगेका छन् । त्यस्तै माघमा रोजगारीका लागि नेपालबाट २८ हजार ४ सय १५ कामदार विभिन्न मुलुक गएका छन् । यो सङ्ख्या पुसको तुलनामा ४ सय ८८ ले बढी हो । त्यस्तै मङ्सिरमा २७ हजार ९ सय ६५ र पुसमा २७ हजार ९ सय २७ जना बिदेसिएका थिए ।
नेपालबाट श्रम स्वीकृति लिई विदेश जाने २६ हजार चार सय नेपाली कामदारको सङ्ख्यामध्ये नौ हजार तीन सय दुई जना नेपाली कामदार मलेसिया पुगेका छन् । तीमध्ये पुरुष आठ हजार नौ सय ९२ र महिला तीन सय दस जना छन् । गत माघको तुलनामा मलेसिया जाने कामदारको सङ्ख्या फागुनमा केही बढेको छ । गत माधमा आठ हजार ६ सय ९८ जना कामदार मलेसिया गएका थिए । त्यस्तै रोजगारीका लागि कतारमा नौ हजार एक सय ५१ जना पुगेका छन् । दुबईमा दुई हजार ९ सय २३ छन् । त्यसमध्ये तीन सय ८८ जना महिला छन् । साउदी अरबमा दुई हजार ६ सय, कुबेतमा एक हजार एक सय ४२ नेपाली कामदार पुगेका छन् ।
त्यसैगरी पोल्यान्डमा एक सय ८३, ओमानमा एक सय ७४, साइप्रसमा एक सय २४, बहराइनमा चार सय ४१ र अन्य मुलुकमा तीन सय ३३ जना नेपाली कामदार रोजगारीका लागि गएका छन् ।
जापान, क्यानडा, पोर्चुगल, लेबनान र बेलायतमा भने श्रम स्वीकृति लिएर रोजगारीमा गएको पाइएको छैन । यी देशमा नेपालीहरु विद्यार्थी भिसामा जाने गरेकाले यस्तो पाइएको हो ।