मेलम्चीमा रोकिएको काम पुनः सुरु

सुरुङको ब्रेक थु्र सकिएपछि पनि आयोजनामा अन्य फिनिसिङका काम बाँकी छन् । फिनिसिङ, टनेल भेन्टिलेसन, पाइप विस्तार तथा अस्थायी पाइप लाइन राख्ने काम बाँकी नै छ । टनेलको आउटगेटबाट पानी प्रशोधन केन्द्रसम्म २ सय ५० मिटर पाइप जडान हुन थप समय लाग्ने भएकाले आगामी असारभित्रै सम्पूर्ण काम सक्न गाह्रो पर्ने देखिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरु भएको छ । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले रकम अभाव देखाउँदै समयमै कामदारलाई ज्याला नदिँदा काम रोकिएको थियो । तर शनिबारदेखि आयोजना निर्माणको काम पुनः सुरु भएको मेलम्ची आयोजना विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘ठेकेदारले पैसा नपाएपछि आयोजनाको काम रोकेका थिए,’ उनले भने, ‘शनिबारदेखि पुनः काम सुरु गरेका छन् ।’
आयोजनाले काम गरेको बिलको भुक्तानी दिए पनि ठेकेदार कम्पनीले रकम अभाव भएको देखाउँदै ठेकेदारलाई ज्याला नदिएको उनले बताए । ‘हामीले हरेक महिना काम गरेको बिलको भुक्तानी परामर्श दाताको सिफारिसमा भुक्तानी गरेका छौँ,’ उनले भने, ‘तर, उक्त भुक्तानी ठेकेदार कम्पनीले मेलम्ची आयोजनाको काममा प्रयोग नगरी अन्यत्र खर्च गरेको हुन सक्छ । पैसा अभाव भएर होइन ।’
इटालियन ठेकेदार कम्पनी सीएमसीले पैसा अभाव देखाउँदै आएको छ । जसका कारण कम्पनीले कामदारलाई समयमै ज्याला भुक्तानी नदिँदा काम रोकिएको उनले बताए । यसअघि नै साढे २७ किमि सिन्धु—ग्याल्थुम खण्डअन्तर्गतकोे सुरुङ खन्ने काम सकिएको थियो ।

असारसम्म मेलम्ची आउने सम्भावना न्यून

सुरुङको ब्रेक थु्र सकिए पनि आयोजनामा अन्य फिनिसिङका काम बाँकी छन् । फिनिसिङ, टनेल भेन्टिलेसन, पाइप विस्तार तथा अस्थायी पाइप लाइन राख्ने काम बाँकी नै छ । टनेलको आउटगेटबाट पानी प्रशोधन केन्द्रसम्म २ सय ५० मिटर पाइप जडान हुन थप समय लाग्ने भएकाले आगामी असारभित्रै सम्पूर्ण काम सक्न गाह्रो पर्ने इन्जिनियर पन्तले बताए ।