प्रभु ग्रुपको डिजिटल टेलिभिजन ‘प्रभु टीभी’

प्रभु टीभी जडानका लागि सेटअप बक्स र छाता नभएको सामान्य एन्टेना मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ । घरकै छतमा मात्र राख्न नपर्ने र फिक्स्ड जडान गर्न नपर्ने हुनाले एन्टेना राख्न सजिलो रहेको कम्पनीको भनाइ छ । एक ठाउँबाट सरेर अरु कुनै ठाउँमा जानुपरे पनि सजिलै बोकेर राखे मात्र हुने भएकाले यो धेरै पाेर्टेबल रहेको कम्पनीले जनाएको छ । मोबाइल फ्रिन्वेन्सीमा आधारित रहेर प्रभु टीभीले डिजिटल टेलिभिजन सञ्चालन गर्न लागेको हो ।

सरकारले एनालग प्रविधिको टेलिभिजनलाई विस्थापित गर्ने घोषणासँगै नयाँ डिजिटल टेलिभिजन सञ्चालनमा आएको छ । बैङ्क तथा रेमिट्यान्स व्यवसायमा अग्रणी प्रभु ग्रुपले डिजिटल टेलिभिजन प्रभु टीभी सञ्चालनमा ल्याएको हो ।

१८ महिना अघिदेखि प्रक्रिया सुरु गरेर लाइसेन्स लिएको प्रभु टीभीले अहिले परीक्षण प्रसारण थालेको छ । नियमित प्रसारणको समेत लाइसेन्स पाएको टीभीले एक महिनाभित्र व्यावसायिक प्रसारण गर्ने जनाएको हो ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनले एक महिनाभित्र प्रभु टीभी व्यावसयिक रुपमा सञ्चालनमा आउने बताए । ‘हामी अहिले परीक्षण प्रसारणमा छौं, परीक्षण प्रसारणसँगै प्राविधिक काम गरिरहेकाले उपभोक्तामा एक महिनाभित्र प्रभु टीभी पुग्छ,’ उनले भने । सरकारको एनालग हटाउने योजनालाई साथ दिन नयाँ प्रविधिसहित आएको उनले बताए ।

प्रभु टीभी टेरेस्टेरिल सेकेन्ड जेनेरेसन (डीभीबी टी २) प्रविधिमा रहेको कम्पनीले जनाएको छ । नेपालमा पहिलो पटक यस्तो प्रविधिबाट डिजिटल टेलिभिजन सञ्चालनमा आउन लागेको अध्यक्ष भट्टचनले बताए । प्रभु टीभीमा नेपालीसहित ३४ अन्तर्राष्ट्रिय पे च्यानल गरेर ५० च्यानल हुने उनले बताए । अधिकांश च्यानलहरु एचडी छन् ।

व्यावसायिक प्रसारणपछि काठमाडौं, पोखरा र चितवनमा सेवा विस्तार हुने कम्पनीले जनाएको छ । ‘हामी सहरी क्षेत्रमा पहिला फोकस भएर अगाडि बढ्छौं,’ भट्टचनले भने । यसको प्रविधि र लक्षित ग्राहक फरक भएकाले नयाँ तरिकाले बजारमा जान लागेको उनले बताए । सुविधा बढी छ र मासिक शुल्क सस्तो छ त्यसैले यसले सजिलै उपभोक्ताको मन जित्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रभु टीभी जडानका लागि सेटअप बक्स र छाता नभएको सामान्य एन्टेना मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ । घरकै छतमा मात्र राख्न नपर्ने र फिक्स्ड जडान गर्न नपर्ने हुनाले एन्टेना राख्न सजिलो रहेको कम्पनीको भनाइ छ । एक ठाउँबाट सरेर अरु कुनै ठाउँमा जानुपरे पनि सजिलै बोकेर राखे मात्र हुने भएकाले यो धेरै पाेर्टेबल रहेको कम्पनीले जनाएको छ । मोबाइल फ्रिन्वेन्सीमा आधारित रहेर प्रभु टीभीले डिजिटल टेलिभिजन सञ्चालन गर्न लागेको हो ।

प्रभु ग्रुपको डिसहोम टीभीमा पनि लगानी छ । प्रभु ग्रुपका अध्यक्ष भट्टचन डिसहोम टीभीका पनि अध्यक्ष हुन् ।