रेल विभागका इन्जिनियर भन्छन्— रेलमार्ग बन्ने कुरा अम्लेट बनाएजस्तो होइन, समय लाग्छ

प्रधानमन्त्री ओली भारत भ्रमणमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र रक्सौल–काठमाडौँ उपत्यका रेलमार्गको विषय उठाएका थिए । त्यतिबेला मोदीले नेपालमा रेलमार्ग र जलमार्ग पुर्याइदिने आश्वासन दिएका थिए ।

रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले रेलमार्ग बन्ने विषय अम्लेट बनाएजस्तो छिटो हुने विषय नभएको बताएका छन् । पूर्व—पश्चिम विद्युतीय रेलमार्ग निर्माणका विषयमा काम भइरहेको र यसमा समय लाग्ने उनको भनाइ छ ।

‘रेलमार्ग निर्माण पसलबाट अन्डा ल्याएर अम्लेट बनाएजस्तो छिटो बन्ने विषय होइन । पहिला डीपीआरलगायत काम हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र निर्माण थालनी हुन्छ । ५/१० वर्ष पनि लाग्न सक्छ ।’
रेल निर्माणका विषयमा सञ्चारमाध्यमले अनावश्यक हल्ला फिँजाउने गरेको उनको आरोप छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किलोमिटर रेलमार्ग निर्माणका लागि ट्र्याक यसअघि नै निर्माण भइसकेको छ । त्यस्तै लालबन्दीदेखि बाराको निजगढसम्म सिभिल इन्जिनियरिङको काम ९० प्रतिशत सम्पन्न भइसकेको उपाध्यायले जानकारी दिए । सरकारको उच्च प्राथमिकतामा परेको रेलमार्गको १ सय ३५ किलोमिटर बर्दिबास–सिमरा–विरगन्ज रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भइसकेको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अहिले चर्चामा रहेको रक्सौल–काठमाडौँ रेल निर्माणसँग जोडिनेछ । वीरगन्जको रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकासम्म रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न विभागले विदेशी कम्पनी छनोट गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र रक्सौल–काठमाडौँ उपत्यका रेलमार्गको विषय उठाएका थिए । त्यतिबेला मोदीले नेपालमा रेलमार्ग र जलमार्ग पु¥याइदिने आश्वासन दिएका थिए ।