सरकारी जग्गामा प्राधिकरणका महानिर्देशक गौतमको मनोमानी

प्राधिकरणको विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार जग्गा भाडामा दिँदा टेन्डर आह्वान गरी बढाबढ प्रक्रियामा गएर गर्नुपर्ने उल्लेख छ । नियमावलीको अनुसूची १५ मा ‘नागरिक उड्डयन, पर्यटन वा व्यापारिक प्रयोजनका लागि प्रतिवर्ष प्रतिवर्गमिटर न्यूनतम ६ सय रुपैयाँमा बढाबढ प्रक्रियाद्वारा निर्धारित दरमा’ भन्ने उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नियमविपरीत प्राधिकरणको जग्गा वेद उप्रेती ट्रस्टलाई भाडामा उपलब्ध गराएको पाइएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको सिनामङ्गल एयरपोर्टको जग्गा गौतमको पहलमा प्राधिकरणले टेन्डर आह्वान नगरी नियमविपरीत ट्रस्टलाई भाडामा दिएको हो । ट्रस्टले सो जग्गामा एभिएसन म्युजियम सञ्चालनमा ल्याएको छ । प्राधिकरणको ८ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा ट्रस्टले १० वर्षका लागि भाडामा लिएको हो ।

प्राधिकरणको विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार जग्गा भाडामा दिँदा टेन्डर आह्वान गरी बढाबढ प्रक्रियामा गएर गर्नुपर्ने उल्लेख छ । नियमावलीको अनुसूची १५ मा ‘नागरिक उड्डयन, पर्यटन वा व्यापारिक प्रयोजनका लागि प्रतिवर्ष प्रतिवर्गमिटर न्यूनतम ६ सय रुपैयाँमा बढाबढ प्रक्रियाद्वारा निर्धारित दरमा’ भन्ने उल्लेख छ ।

प्राधिकरणको स्वामित्वमा रहेको एयरपोर्टको जग्गा भाडा दिँदा यसअघि टेन्डर आह्वान गरी मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराएको थियो । एयरपोर्टभित्र बनिरहेको पार्किङलगायत फुडकोर्ट भवनको जग्गा उपलब्ध गराउँदा टेन्डर आह्वान गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पछिल्लो पटक एयरपोर्टको अर्काे जग्गामा होटल निर्माणका लागि भाडामा दिन पनि सरकारले टेन्डर आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

प्राधिकरणको नाममा रहेको जग्गा कतै टेन्डर आह्वान गरेर बढाबढ प्रक्रियामा भाडा दिइएको छ कतै बिनाटेन्डर उपलब्ध गराइएको प्राधिकरणका वरिष्ठ कर्मचारीले क्यापिटल नेपाललाई बताए । न्यूनतम शुल्कमा बिनाटेन्डर जग्गा भाडामा दिएपछि प्राधिकरणका कर्मचारीहरूले महानिर्देशक गौतमलाई सचेतसमेत गराउँदा पनि निर्णय नसच्चिएको ती कर्मचारीले जानकारी दिए ।

तत्कालीन मन्त्री जीवनबहादुर शाहीलाई समेत प्रभावमा पारी महानिर्देशक गौतमले नियमविपरीत ट्रस्टलाई जग्गा उपलब्ध गराएको उनले बताए । गौतम र शाही म्युजियमका ‘साइलेन्ट पार्टनर’ रहने गरि जग्गा भाडामा दिएको ती कर्मचारीले आरोपसमेत लगाए ।
पाइलटसमेत रहेका ट्रस्टका सञ्चालक वेद उप्रेतीले जग्गा भाडामा नलिई प्राधिकरणसँगको सहकार्यमा म्युजियम सञ्चालनमा ल्याइएको उनले बताए ।

इन्डोनेसियामा रहेका उप्रेतीले इमेल र टेलिफोन कुराकानीमा काठमाडौंमा नयाँ पर्यटकीय स्थल थपिने र एभिएसनका बारेमा रुचि राख्नेका लागि म्युजियम खोलिएको जानकारी दिएका छन् । यसमा प्राधिकरणको सहकार्य रहेको उनको भनाइ छ । ‘हामीले सम्झौतापत्रमा सहकार्य भनेर नै राखेका छौं,’ उनले भने । अहिले सम्झौतापत्र सार्वजनिक गर्न नमिल्ने, यसको आम्दानीबाट १५ प्रतिशत प्राधिकरणलाई जाने र घाटा भए पनि प्राधिकरणलाई व्ययभार नपर्ने उनले बताए ।

यस विषयमा प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठलाई थाहा भएकाले आफू नबोल्ने प्राधिकरणका महानिर्देशक गौतमले बताए । प्रवक्ता श्रेष्ठले भने प्राधिकरणले ट्रस्टलाई जग्गा भाडामै उपलब्ध गराएको तर ट्रस्ट भएकाले टेन्डर आह्वान नगरिएको जानकारी दिए । ‘टेन्डर आह्वान गर्दा म्युजियमका लागि भनेर अर्काे प्रस्ताव पर्ने अवस्था थिएन, त्यसैले गरिएन,’ उनले भने ।
तर प्राधिकरणको नियमावलीमा ट्रस्टका लागि जग्गा उपलब्ध गराउँदा टेन्डर आह्वान गर्नु नपर्ने उल्लेख छैन ।