निगमको यात्रु सङ्ख्या घट्यो

निगमको तथ्याङ्कअनुसार आव २०७४/७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु सङ्ख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु सङ्ख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४/७५ मा कमी आएको हो ।

निगमको तथ्याङ्कअनुसार आव २०७४/७५ को आठ महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ एक लाख १८ हजार यात्रु पुगेका छन् अघिल्लो आवको सोही अवधिमा एक लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो सङ्ख्या २७ हजारले कमी हो । आव २०७२/७३ को आठ महिनामा एक लाख २४ हजार यात्रु थिए । आव २०७३/७४ मा चार लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२/७३ मा जम्मा तीन लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए ।

यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन् । आव २०७४/७५ को आठ महिनामा २९ हजार यात्रु पगेका छन् भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए । आव २०७२/७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए । अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झन्डै दुई महिना लागेका कारण यात्रुको सङ्ख्यामा कमी आएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ । आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा सुरु गर्ने निगमको तयारी छ । निगमले अन्तर्राष्ट्रियतर्फ एक बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगमका दुईटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ ।

अन्तर्राष्ट्रियतर्फ विभिन्न मुलुकका आठ अाेटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौअाेटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ । रासस