नेपाल घरेलु तथा साना उद्योग महासङ्घले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेकोे १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योगले मात्र देशको अर्थतन्त्र बलियो बनाउने बताएका छन् । उनले कृषिमा आबद्ध उद्योगले मात्र औद्योगिक विकासमा गति दिन सक्ने कुरा बताएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेकोे १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन् । लघु तथा साना उद्योग औद्योगिक विकासको जग भएकाले सरकारको ध्यान यसतर्फ जानुपर्ने भनाइ छ । स्थानीय तहदेखि केन्द्रसम्म सरकार गठन भइसकेको छ, त्यसले अर्थतन्त्रले एउटा गति लिने दाहालले विश्वास लिएका छन् ।
सरकार यस्तो बेलामा लघु तथा घरेलु उद्योगका निम्ति प्रत्येक स्थानीय तहमा एउटा उद्योगको स्थापना गर्नेमा सरकार प्रतिबद्ध भएर अगाडि बढ्ने पनि जानकारी गराए । प्रत्येक पालिकामा एक करोडको उद्योग स्थापना गर्ने सरकारी पहल रहेको र स्थानीय तहमा नै उद्योग स्थापनाका निम्ति रकम विनियोजित गरिएकाले विकासको बाटो खोलिसकिएको दाहालको दाबी छ । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने लद्यु घरेलु तथा साना उद्योगका उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सञ्जाल विस्तार गर्ने मुख्य उद्देश्यका तथा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ चौधौं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग मेला आयोजना भएको संयोजक मोहन कटुवालले बताए ।
प्रदर्शनीमा एक सय ५७ ओद्योगिक स्टल राखिएका छन् । मेलामा मुलुकका लघु, घरेलु तथा साना तथा राष्ट्रिय उद्योगका उत्पादनहरु राखिएका छन् । त्यसैगरी भारत, चीन, पाकिस्तान तथा बङ्गलादेशका समेत उद्यमीहरुको अन्तर्राष्ट्रिय प्याभिलिएन समेत छन् । मेलामा स्वदेशी उत्पादन– कपडा, छुर्पि, मूर्तिकला, हस्तकला तथा विदेशी वस्तुहरु राखिएका छन् ।