सिन्डिकेटलाई समर्थन गर्दै पेट्रोलियम ढुवानी रोके तत्काल निलम्बन

बिहीबार नै सबै डिपो प्रमुखलाई कुन ट्याङ्करले तेल ल्यायो, कुन ट्याङ्कर आ–आफ्नो रिफाइनरीतिर गएको भन्नेबारे रिपोर्ट निगमको केन्द्रीय कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइएकाे छ । त्यसैगरी, कति ट्याङ्कर बाटोमा छन्, कति ट्याङ्कर डिपोमा छन् र कति ट्याङ्कर रिफाइनरीमा छन् भन्नेबारे पनि रिपोर्ट तयार पारेर ट्राफिकलाई उपलब्ध गराइएको छ ।

यातायात व्यवसायीको समर्थन गर्दै सिन्डिकेटको पक्ष लिएर पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीलाई नेपाल आयल निगमले तत्काल निलम्बन गर्ने भएको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले ढुवानीमा कुनै अवरोध पु¥याए तत्काल निलम्बन गर्ने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

‘हामीले व्यवसायीलाई यस विषयमा अग्रिम जानकारी गराएका छौं,’ भट्टराईले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘यदि हाम्रो जानकारीलाई बेवास्ता गर्दै सिन्डिकेटको समर्थन गर्ने र ढुवानी ठप्प पार्ने काम गरे तत्काल निलम्बन गर्छौं ।’ भट्टराईले निगमसँग कुनै माग भए ल्याउनुस्, होइन भने आपूर्ति ठप्प पारे त्यस विरुद्ध निगम जाने बताए । व्यवसायीलाई बोलाइएर भट्टराईले नियमित जसरी पेट्रोलियम पदार्थ नआए तत्काल छानबिन गर्ने र निलम्बन गर्ने चेतावनी दिए ।

भट्टराईले बिहीबार नै सबै डिपो प्रमुखलाई कुन ट्याङ्करले तेल ल्यायो, कुन ट्याङ्कर आ–आफ्नो रिफाइनरीतिर गएको भन्नेबारे रिपोर्ट निगमको केन्द्रीय कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । त्यसैगरी, कति ट्याङ्कर बाटोमा छन्, कति ट्याङ्कर डिपोमा छन् र कति ट्याङ्कर रिफाइनरीमा छन् त्यसको रिपोर्ट तयार पारेर ट्राफिकलाई उपलब्ध गराइएको जानकारी दिए ।

सरकार सिन्डिकेट खारेज गर्ने पक्षमा उभिएपछि त्यस विरुद्ध यातायात व्यवसायी खनिएका हुन् । उनीहरुले २१ गते देशभरका यातायात व्यवसायीले गाडी बन्द गराउने चेतावनी दिँदै आएका छन् । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले बन्दको कुनै कार्यक्रम नरहेको बताए । ‘हाम्रा गाडिहरु धमाधम सञ्चालन हुन्छन्,’ उनले भने, ‘अन्य यातायात जस्तो गरी हामीले बन्द गर्दैनौं ।’

उनले मध्यमाञ्चलमा आउने ट्याङ्करमा केही समस्या हुन सक्ने बताए । ढुवानी व्यवसायी महासङ्घले बन्द नगर्न आग्रह गरेको छ । ‘यदि उनीहरुले बन्द गरे भने कसको के लाग्छ ?’ अध्यक्ष बोहोराले भने, ‘मध्यमाञ्चलका ७० ट्याङ्कर चालक नै मालिक छन् ।’
निगमका कार्यकारी निर्देशक भट्टराईले आजैबाट ट्याङ्कर कम चलेकोप्रति लक्षित गर्दै भने, ‘डिपोमा ट्याङ्कर नआइपुगे तत्काल छानबिन हुन्छ ।’