कालो धनले बढी प्रभावित अर्थव्यवस्थाका क्षेत्रहरु

हाम्रो अर्थव्यवस्थामा तीव्र गतिमा बढिरहेको कालो धनको विस्तारले गम्भीर तथा विनाशकारी परिणाम ल्याउने गरेको छ ।

कालो धन सामाजिक तथा आर्थिक कलङ्क हो । हाम्रो अर्थव्यवस्थामा तीव्र गतिमा बढिरहेको कालो धनको विस्तारले गम्भीर तथा विनाशकारी परिणाम ल्याउने गरेको छ ।

१. दोहोरो अर्थव्यवस्था

कालो धनका कारण मुलुकहरुको अर्थव्यवस्था कसरी धरासयी भएको छ भन्ने स्पेन र इटालीका उदाहरण हेरे पुग्छ । भारतमा पनि कालो धनको मात्रा वृद्धि हुनाले आर्थिक द्वैधवादको निरन्तर वृद्धि भइरहेको अनुमान छ । कालो धनलाई भूमिगत अर्थव्यवस्था, समानान्तर अर्थव्यवस्थाका रुपमा पनि चित्रित गर्ने गरिन्छ । विश्वमा कालो अर्थव्यवस्थाले समग्र आर्थिक लेनदेनको कम्तीमा पाँच भागको एक भागको प्रतिनिधित्व गर्छ । अर्थात् सम्पूर्ण कारोबारमा २० प्रतिशत कालो धन हुने गरेको अनुमान छ । सेतो धनको अर्थव्यवस्थाले कालो धनलाई पहिचान गर्न कठिन छ ।

२. वित्तीय प्रणालीमा प्रभाव

कुनै पनि सरकार पूर्ण रुपले राजस्वमा आधारित भएर चलेको हुन्छ । करको चोरी अर्थव्यवस्थाको वित्तीय प्रणलीका लागि गम्भीर परिणाम हो । राजस्व हानिका दीर्घकालिक परिणाममा कर प्रणालीका अन्तर्निहित लचकता कम गर्नु पनि हो । राजस्वको दिइएको लक्ष्यभन्दा बढी कर उठाउन सरकार करका दरमा वृद्धि अथवा करको दायरा विस्तार गर्न बाध्य हुन्छ । भूमिगत अर्थव्यवस्थामा कर छलिने भएकाले सरकार सञ्चालन गर्न स्रोत अभावमा सधैं समस्या हुने गर्छ ।

३. अर्थव्यवस्थाको यथार्थ आकलनमा कठिन

एउटा ठूलो भूमिगत अर्थव्यवस्था र कालो आयको वृद्धिले देशको राष्ट्रिय आयको तथ्याङ्क दिग्भ्रमित हुन्छ । यसले सत्य र यथार्थ चित्रण गरिएको अर्थतन्त्रलाई अवमूल्यन गर्छ । यद्यपि उल्लेख नगरिएको अर्थव्यवस्थालाई सकल राष्ट्रिय उत्पादनको आधिकारिक तथ्याङ्कभन्दा बाहिर राखिएको छ । राष्ट्रिय आयका लागि मुलुकको बचत तथा खपतको अनुमान गर्न कठिन हुँदा त्यसले सटीक आर्थिक नीति निर्माण र विनियोजनसम्बन्धी योजना बनाउन पुर्वाग्रही तथा भ्रामक अवस्था सिर्जना गर्छ । कालो धनको सबैभन्दा महङ्खवपूर्ण प्रभाव भनेकै वास्तविक अर्थव्यवस्थाबारे गलत जानकारी प्रदान गर्नु हो । किनकि यो आर्थिक नीतिहरुको दायराभन्दा बाहिर हुन्छ । कालो धनको विशाल उपस्थितिले राष्ट्रिय आयको अनुमान, प्रतिव्यक्ति आय, आयको वितरण, खपत, बचत र लगानीको वितरणको तथ्याङ्कको वैधतामा आशङ्का उत्पन्न गर्छ । यसले आर्थिक योजनामा हानि पु¥याउँछ । किनकि आर्थिक योजना बृहत्–आर्थिक अवयवहरुमा आधारित हुन्छन्, जसले कालो धनलाई पूर्ण रुपले उपेक्षा गर्छन् ।

४. मौद्रिक नीति निर्माण र कार्यान्वयनमा समस्या

कालो धन ’कालो तरलता’को हिस्सासँग सम्बन्धित हुन्छ । कालो धनको बढ्दो कारोबारले मुलुकमा कति तरलता (लगानीयोग्य रकम) छ भन्ने आकलन गर्न समस्या हुन्छ । यसले गर्दा मौद्रिक नीति निर्माणमा कठिनाइ हुन्छ, जसका कारण छिटोछिटो तरलतामा परिवर्तन आइरहन्छ । केही दिनको अन्तरमा अधिक तरलता र तरलता अभाव यसैका उपज हुन् । ‘कालो तरलता’को हिस्सालाई सजिलै परिवर्तनीय सम्पत्ति जस्तै सुन र चाँदीका रुपमा नगद र अन्य बचत (कालो आय)को भण्डारणका रुपमा परिभाषित गरिएको छ । ’कालो तरलता’ले अर्थव्यवस्थालाई नियमित सञ्चालन गर्ने मौद्रिक अधिकारीहरुका लागि टाउको दुखाइको विषय हो । ठूलो मात्राको ‘कालो तरलता’को अस्तित्वले सरकारलाई आवश्यकभन्दा न्यून आवश्यक काममा खर्च गर्न दिग्भ्रमित गर्छ ।

५. सम्पत्तिको कम आकलन अथवा असमानता सिर्जना

जब सरकारले करको बोझ वितरणमा न्यायसङ्गत बनाइराख्न प्रगतिशील प्रत्यक्ष करसम्पत्तिमा पुनः मिलान गर्छ, तब कर चोरी र कालो धनको वृद्धिले सामाजिक न्यायको अवधारणालाई प्रभावित गर्दछ । जसले गर्दा आयको असमानतामा व्यापक वृद्धि हुन्छ । तस्करी, अवैध व्यापारजस्ता भूमिगत गतिविधिहरुमा कर लगाउन सकिन्न । सरकारले आधिकारिक रुपले स्वीकृत गतिविधिहरुमा बढी कर लगाउने भएकाले अवैध कमाइ गर्नेले कमाएको कमायै गर्दा ऊ धनी बन्दै जान्छ भने वैध कमाउनेले ठूलो हिस्सा करका रुपमा तिर्दा ऊ गरिब बन्दै जाने हुन्छ । त्यसैगरी करछली गर्नेले पनि आफ्नो बक्यौता नबुझाएरै सार्वजनिक सेवाहरुको समान रूपले उपभोग गरिरहेको हुन्छ । यसमा सामाजिक जाँच कमजोर प्रमाणित हुन्छ । कालो धनका व्यापारीहरुले गर्ने करछली वा चोरीका कारण राजस्वमा हुने कमीको परिपूर्ति गर्न इमानदारहरुले बढी करको बोझ बेहोर्नुपर्छ ।

पैसामा पहुँच हुँदा गैर–आवश्यक वस्तुहरु बढी किनिन्छ, जसले बढी देखावटीलाई प्रदर्शन गर्छ । समग्र खपतको स्वरुपले धनी तथा सम्भ्रान्त वर्गको विकास गर्छ । त्यसले आयातित अर्थतन्त्रकोे विकासमा पनि सघाउ पु¥याउँछ । गैरआवश्यकीय उत्पादनहरुको खपतमा हुने समग्र वृद्धिले प्राथमिकताका क्षेत्रमा लगानी गर्न थोरै मात्र स्रोतसाधन प्राप्त हुन्च । जब कालो धन तीव्र गतिले वृद्धि हुन्छ, धनी झन् धनी हुन्छन् तथा गरिब झन् गरिब हुँदै जान्छन् । एकाग्रताको माध्यमले केहीका हातमा मात्र आय र धन हुँदा कालो धनले धनी र गरिबबीचको अन्तर वृद्धि गर्छ वा धनी र गरिबबीचको खाडल बढाउँदै जान्छ । कालो अर्थव्यवस्थाको विकासले समाजमा आयको वितरणलाई प्रतिगामी बनाउँछ ।

६. अधिक उपभोग खर्च

यात्रा तथा पर्यटन, मनोरञ्जन, आडम्बरका सरसामान, चुनावमा गरिने फजुल खर्चमा कालो धनलाई तह लगाइन्छ । यो कतिपय सामाजिक विकृतिको कारण बन्छ भने यसले आम मानिसको जीवनका मूल्य र मान्यतामा ह्रास ल्याउँछ । समाजमा भ्रष्टाचार बढाउन पनि कालो धनले मलजल गरेको हुन्छ ।

७. उत्पादनमा औसत प्रभाव

कालो धनका कारण खपतको स्वरुप धनी तथा सम्भ्रान्त वर्गमा ठडिएको छ । कालो धनले बजारका विलासी वस्तुमा आकर्षण बढाएको छ, जसले यस्ता वस्तुको उत्पादनलाई प्रोत्साहित गरिरहेको पाइन्छ । विलासिताका वस्तु खपतमा हुने समग्र वृद्धिले प्राथमिकताका क्षेत्रमा लगानी गर्न थोरै मात्र स्रोतसाधन छोडेको हुन्छ, जसले उत्पादनमा प्रतिकूल प्रभाव पार्छ । कालो धनका कारण उत्पादनशील स्रोतसाधनलाई आवश्यक वस्तुभन्दा अनावश्यक कुरातिर समाजलाई मोडेको पाइन्छ । गैरआवश्यक उपभोगका पक्षमा उत्पादन–मिश्रणका विकृतिहरुले उत्पादनमा प्रतिकूल प्रभाव पार्छन् र तिनले योजनाका उद्देश्यलाई विकृत बनाउँछन् ।

८. दुर्लभ संसाधनहरुको वितरण

कालो धन हुनेहरु सधैँ आफ्नो तयारी तथा बढी मूल्य दिन सक्ने क्षमताका कारण बाजारमा सधैँ दुर्लभ तथा महँगा वस्तुहरु लिन सक्ने हैसियतमा रहन्छन् । यसले इमानदार तथा गरिब जनतालाई उनीहरुको विधिसम्मत भाग पाउनबाट पनि वञ्चित हुने स्थिति निर्माण हुन्छ । कालो धनकै कारण समाजमा शुद्ध आर्थिक कल्याणलाई घटाउँदै लगेको पाइन्छ र मानिसहरु स्वार्थी बन्दै गइरहेका छन् ।

९. समाजका नैतिक मूल्यमान्यतामा ह्रास

समाजका सामान्य नैतिक मूल्य र मान्यतामा आउने ह्रासका लागि धेरै हदसम्म कालो धन जिम्मेवार छ । कालो आयको वृद्धिको अर्थ, समाजमा स्वीकार गरिएका मान्यताबाट विचलन र समाजको दृष्टिकोणले अनैतिक हो । सामाजिक रूपले हामी यो भन्न सक्छौं कि समाजको संरचना र चालचलनमा ठूलो परिवर्तन आउँछ । इमानदारी, कडा परिश्रम, बचत तथा सादापन जस्ता सामाजिक मूल्यमा कमी आउँछन् । यतिसम्म कि राजनीतिक सङ्घ–सङगठनले आफ्नो विश्वसनीयता गुमाउँछन् । किनकि उनीहरु बिस्तारै बिस्तारै कालो सम्पत्ति उत्पादन गर्ने पूरै प्रणालीका अङ्ग बन्दै जान्छन् ।