खुसीको खुट्किलो

नागरिकमा सदाचारको भावना कम छ भने जतिसक्यो छिटो धनी हुने चाहना बढ्दो छ । यसले अधिकांश देशका नागरिकमा डिप्रेसन बढाएको छ, हत्या–हिंसा, भ्रष्टाचार र असन्तुलन वृद्धि हुन पुगेको छ । यसले धनी र गरिबबीचको खाडल थप गहिराइदिएको छ ।

नयाँ वर्ष २०७५ सबै नेपालीमा खुसीको मात्रा वृद्धि गर्न सहयोगी बनोस् ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१८ को ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ (१४ मार्च) सार्वजनिक गर्दै संसारमै सबैभन्दा खुसी नागरिक बस्ने देशमा फिनल्यान्ड रहेको घोषणा गर्यो । सोही सूचीले हाम्रो देश नेपाललाई एक सय एक नम्बरमा राख्यो । अर्थात्, हामी खुसी हुने दिन आउन अझै निकै लामो समय लाग्नेछ । तर, त्यो सूचीले हामीलाई केही खुसी भने अवश्य पनि दिएको छ । दक्षिण एसियाली मुलुकहरुमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको छ । उता, निकटतम छिमेकी एक सय ३३ नम्बरमा छ, अति दुःखीहरुको मुलुकका रुपमा अङ्कित मध्यअफ्रिकी देश बुरुन्डी पुछार अर्थात् एक सय ५६औं नम्बरमा परेको छ ।

फिनल्यान्ड केवल ५५ लाख जनसङ्ख्या भएको सुन्दर देश हो । त्यस देशका जनता अधिक खुसी हुनुमा त्यहाँको जनउत्तरदायी सरकार, सदाचारी कर्मचारी तथा अति विश्वसनीय प्रहरीको प्रमुख भूमिका रहेको देखिन्छ । आम्दानी वा ठूलो अर्थतन्त्रले मात्रै मानिसलाई खुसी पार्न सक्दैन भन्ने उदाहरण फिनल्यान्डले दिएको छ । किनकि, त्यस देशका छिमेकी तथा अन्य नर्डिक मुलुक (अमेरिकाको भन्दा कम) को भन्दा प्रतिव्यक्ति आम्दानी कम छ । फिनल्यान्डका नागरिक सम्पत्तिलाई असल काममा लगाउन सधैं उत्साह देखाउँछन् । समाज प्रगतिशील छ, भ्रष्टाचार नगण्य छ, प्रहरीहरु संसारमै सबैभन्दा विश्वसनीय मानिन्छन्, बैङ्कहरु अति जिम्मेवार छन् । यही कारण ती खुसी छन् । उनीहरु राज्यलाई धेरै कर तिर्न मन गर्छन्, त्यसलाई उनीहरु उत्कृष्ट जीवन निर्वाहका निम्ति गरिएको लगानी मान्छन् । किनकि, राज्यले तिनको स्तरीय शिक्षा (विश्वविद्यालय) र स्वास्थ्य निःशुल्क गरिदिएको छ ।

उता, पछिल्लो समय सुरक्षित भविष्य र खुसी खोज्दै थुप्रै नेपालीले गन्तव्य बनाएको मुलुक अस्ट्रेलिया भने यस्तो सूचीमा दसाैँ नम्बरमा पर्न सफल भएको छ । बेलायत जसले आफ्नो मुलुकका नागरिक पछिल्ला वर्षहरुमा खुसी बन्ने क्रम बढिरहेको दाबी गरेको छ, संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनले त्यस मुलुकलाई उन्नाइसौँ नम्बरमा खुम्च्याइदिएको छ । अफ्रिकनका साथै कतिपय ल्याटिन अमेरिकी मुलुकहरु कम खुसी हुने सूचीमा दर्ता भएका छन् । ती मुलुकमा बढ्दो भ्रष्टाचार, अपराध–हिंसा, धनको असमान वितरण तथा गरिबीले त्यहाँ खुसी हुने नागरिकको सङ्ख्या अत्यन्तै कम हुन पुगेको छ । नागरिकमा सदाचारको भावना कम छ भने जतिसक्यो छिटो धनी हुने चाहना बढ्दो छ । यसले अधिकांश देशका नागरिकमा डिप्रेसन बढाएको छ, हत्या–हिंसा, भ्रष्टाचार र असन्तुलन वृद्धि हुन पुगेको छ । यसले धनी र गरिबबीचको खाडल थप गहिराइदिएको छ ।

फिनल्यान्डको अर्थतन्त्र मजबुत पार्न प्रमुख भूमिका सेवा क्षेत्र (जीडीपीको ६६ प्रतिशत)को रहेको छ । वैदेशिक व्यापार तथा उत्पादनमा विद्युतीय सामग्री, वन पैदावार तथा धातु उद्योग मुख्य छन् । शुद्ध पानी, खनिज, कागज र कृषिक्षेत्रले पनि त्यस मुलुकलाई समुन्नत पार्न ठूलै मद्दत गरेको छ । फिनल्यान्डले आर्थिक उन्नति गर्दै आफ्ना नागरिकलाई संसारकै खुसी मान्छे बनाउन चालेको कदमलाई नेपालले अनुसरण गर्न सक्छ कि सक्दैन ? यसको तुलना आवश्यक छ । हामी कहाँनिर चुक्दै आएका छौँ भन्ने कुरा पत्ता लागेपछि त्यसमा सुधार गर्नु आवश्यक हुन्छ । शुद्ध पानी, जलविद्युत्, पर्यटन (सेवा क्षेत्र), कृषि तथा अन्य उत्पादनका लागि नेपालको हावापानी र प्रकृति सधैँ सकार छ । त्यति मात्र होइन, उदाउँदो ठूला अर्थतन्त्रयुक्त मुलुकका रुपमा पाइला चालिरहेका दुई छिमेकी भारत र चीनबाट लिन सकिने फाइदा पनि उत्तिकै छ । ती दुई ठूला छिमेकमा यहाँ उपलब्ध प्रकृतिप्रदत्त वस्तुको निकासी मात्रैले पनि मुलुकको विकासले गति लिन सक्छ ।

हिन्दू तथा बौद्धमार्गीका निम्ति ठूलो तीर्थस्थल नेपाल हो, ती दुई देशबाट धार्मिक पर्यटक नेपाल आउने सम्भावना अहिले पनि उच्च छ । सधैँ राजनीतिक खिचातानी, अस्थिरता, अविकासको भागीदार बन्न नेपाल किन बाध्य छ ? यो प्रश्नको उत्तर दिने जिम्मेवारी हाम्रा राजनीतिक दलका नेता र स्थायी सरकारको उपमा पाएको प्रशासन संयन्त्रकै हो । राजनीति सदाचार प्रेरित तथा प्रशासन (प्रहरीसमेत)मा जिम्मेवारीबोध हुने हो भने नेपाल खुसी मान्छेहरुको मुलुक बन्न कत्ति पनि बेर लाग्नेछैन । सानै प्राप्तिमा खुसी हुने आदत नेपाली नागरिकमा अद्यापि कायम छ ।