किन हुन्छ सीईओको तीव्र ‘मुभमेन्ट’ ?

माछापुच्छ्रे, एनएमबी, एनआईसी एसियादेखि सिभिल र सिद्धार्थसम्म नयाँ पुस्ताका सीईओ छाइसकेका छन् । त्यसअघि पनि प्रभु, लक्ष्मीजस्ता बैङ्कमा तुलनात्मक रुपले कलिला अनुहार देखिएका थिए । नयाँ पुस्ता नेतृत्वमा आउनु स्वाभाविक र सकारात्मक भएको बताउँछन् नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना । ‘नयाँ समय र बजारअनुसार नयाँ सोचले बैङ्क चलाउँछौं भन्ने नयाँ पुस्तालाई अवसर दिनुपर्छ,’ उनले भने ।

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयकमा राष्ट्रपतिले लालमोहर लगाएकै दिन १० वैशाखमा सिभिल बैङ्कको सञ्चालक समिति बैठक बस्यो । बैठकका नियमित अजेन्डाहरुको छलफल सकिएपछि अध्यक्ष इच्छाराज तामाङले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बैङ्क छाड्न मौखिक आग्रह गरे । त्यही दिन अध्यक्ष र सीईओको कार्यकाल तोक्नेदेखि तामाङ स्वयम् पनि बैङ्कको अध्यक्ष रहन नपाउने (सांसद भएका कारण) गरी संसद्ले पारित गरेको विधेयकमा लालमोहर लाग्यो ।

यसरी भिन्न परिवेश र घटनाक्रमको विकास भएको भन्दै तामाङले सीईओ किशोर महर्जनलाई हटाएर डेपुटी सीईओ गोविन्द गुरूङलाई कायममुकायमको पत्र दिए । त्यसलगत्तै बिदामा बसेका महर्जनको जागिर १२ साउनबाट सकियो । पछि सञ्चालक समितिले गुरुङलाई सीईओ नियुक्त गर्याे ।

स्रोतका अनुसार तामाङले किशोरलाई हटाएर गुरुङलाई सीईओ बनाउन चाहे पनि यति हतारो गरेका थिएनन् । तर, बाफियाले तामाङको अध्यक्ष पद नै खोसिदिन लागेपछि उनलाई चपेटा पर्यो । सिभिलका एक सञ्चालकले भने, ‘अर्को व्यक्ति अध्यक्ष बनेर आएपछि महर्जनले नयाँ अध्यक्षलाई कन्भिन्स गराउन सक्छन् भन्ने शङ्काले बढी भूमिका खेलेको हुन सक्छ ।’ किनकि, बाफियाले तामाङको अध्यक्ष पद तत्काल खोसिदिन्थ्यो । तर, महर्जन अझै दुई कार्यकाल बैङ्कमा रहन सक्थे ।

अजय श्रेष्ठ गत १ साउनदेखि बैङ्क अफ काठमान्डूबाट बाहिरिए । करिब १ वर्ष कार्यकाल बाँकी छँदै सीईओ श्रेष्ठलाई सञ्चालक समितिले हटायो । अहिले शोभनदेव पन्त उक्त पदमा नियुक्त भएका छन् । साबिकको लुम्बिनी बैङ्क र बैङ्क अफ काठमान्डू (बीओके) मर्ज हुँदा लुम्बिनीले अध्यक्ष र बीओकेले सीईओ पाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार प्रकाश श्रेष्ठ सञ्चालक समिति अध्यक्ष भएर आए ।
आफू पावरमा आइसकेपछि अध्यक्ष श्रेष्ठलाई सीईओ फेर्ने इच्छा जाग्यो ।

उनले मर्जर भएको एक वर्ष नबित्दै सञ्चालक समितिमा सीईओ परिवर्तन गर्ने प्रस्ताव ल्याए । उक्त बैठकको माइन्युटमा तत्कालीन बीओकेका तर्फबाट सञ्चालक भएका सञ्जयबहादुर शाहले ‘नोट अफ डिसेन्ट’ लेखेको स्रोतको दाबी छ । बीओकेबाट आएका अर्का सञ्चालक राधेश पन्तले भने बाहिरबाट नयाँ सीईओ लाने प्रयास गरे पनि सफल भएनन् । लुम्बिनीबाट आएका श्रवण मास्केलाई सीईओ बनाउन केही सञ्चालकले गरेको प्रयास पनि विफल भयो ।

साविकको बीओकेमा साधारण सेयरको हिस्सा बढी भएकाले लुम्बिनी समूहलाई सजिलो भयो । यसरी शोभनदेव आफ्नो अनिच्छा हुँदाहुँदै बीओकेको सीईओ बन्न पुगे । उता अजय भने अरु फरक पेशामा सक्रिय हुने उद्देश्यले बैङ्क आफ्ना नजिकका मान्छेलाई बताउँछन् ।
पन्तले खराब कर्जाका कारण चुर्लुम्मै डुबिसकेको लुम्बिनी बैङ्कलाई निकै छोटो समयमा सुधार गरेका थिए । लुम्बिनी समूहबाट आएका सञ्चालकहरु यही गुन तिर्न पन्तलाई पुनः बैङ्क भिœयाउन चाहन्थ्यो । पन्त आफूले अवकाश लिएको बताउँदै आएका थिए । अझ सञ्चालक समितिमा विवाद भएपछि पन्त बीओकेप्रति आकर्षित थिएनन् । तथापि, आफ्ना पूर्वसञ्चालकहरुको आग्रहलाई उनले लत्याउन सकेनन् र बीओकेमा हाजिर भए ।

बैङ्किङ क्षेत्रमा पन्त र पूर्वसीईओ अजय दुवैजना अत्यन्त राम्रा बैङ्कर मानिन्छन् । खासगरी ‘क्रेडिट एनालिसिस’मा उनीहरु पोख्त रहेको टिप्पणी बैङ्किङ क्षेत्रमा हुने गरेको छ । ‘उहाँहरु दुवैजना नेपाली बैङ्किङमा रहनुपर्ने मान्छे हो,’ राष्ट्र बैङ्कका एक अधिकारीले भने, ‘सीईओ परिवर्तनको लहर नै आएकाले कुनै न कुनै बैङ्कमा दुवैजना सेटल हुन सक्नुहुन्छ ।’

कुमारी बैङ्कमा ३ वर्षदेखि कायम मुकायम सीईओका रुपमा व्यवस्थापनको नेतृत्व गरिरहेका राजीव गिरीलाई सञ्चालक समितिले पत्याएन । तीन वर्षसम्म बिनासीईओ बैङ्क चलाएपछि हालैमात्र सुरेन्दर भण्डारीलाई पदमा बसाइएको छ । भण्डारी यसअघि सिद्धार्थ बैङ्कमा थिए । कुमारीमा गएपछि उनले अनुजमणि तिमल्सिनालाई डेपुटी सीईओ बनाएर लैजाने प्रयास गरिरहेका थिए । तर, अनुजले तत्कालै सेन्चुरी बैंक नछाड्ने भएका छन् ।

उता सिद्धार्थमा लामो समय व्यवस्थापन सम्हालेका भण्डारी आफ्नो कार्यकाल सकेर बाहिरिएपछि शम्भुराम गौतम सीईओ भए । यसअघि दोस्रो बरियतामा रहेका गौतमलाई नै सञ्चालक समितिले सीईओमा बढुवा ग¥यो । जानकारहरुका अनुसार गौतम अहिले नै सीईओ भइहाल्न इच्छुक थिएनन् ।

नियामक निकाय राष्ट्र बैङ्कले सीईओको सेवासुविधाबारे नीतिगत व्यवस्थाहरु गरेर अङ्कुश लगाएको छ । यसै कारण सीईओ भएमा पाइरहेको सेवासुविधा पनि गुम्ने भन्दै गौतमले सीईओ बन्न अनिच्छा देखाएका थिए । तर सञ्चालक समितिले बाहिरबाट सीईओ ल्याउन चाहेन र उनलाई नै व्यवस्थापन सम्हाल्ने जिम्मेवारी सुम्पियो ।

ग्लोबल आईएमईका सीईओ अनिल ज्ञवालीले पनि कार्यकाल बाँकी हुँदै भदौ तेस्रो साता राजीनामा दिए । बैङ्कका एक सञ्चालकका अनुसार सिनियर डेपुटी सीईओ जनक शर्मा पौडेलसँगको विवादका कारण ज्ञवालीले राजीनामा दिएका हुन् । तर, बैङ्कका उच्च अधिकृतहरु भने भिन्न तर्क गर्छन् । उनीहरुका अनुसार सञ्चालक समितिले सीईओ ज्ञवालीलाई भन्दा डेपुटी सीईओ पौडेललाई प्राथमिकतामा राखेर बढी जिम्मेवारी दिन थालेपछि ज्ञवाली असन्तुष्ट थिए । पछिल्लो समय थुप्रै बैङ्कमा सञ्चालक समिति र खासगरी अध्यक्षले सीईओलाई भन्दा दोस्रो बरियताका अधिकृतलाई बढी प्राथमिकता दिन थालेको देखिएको छ । यसले बैङ्किङ क्षेत्रको व्यवस्थापनमा पुस्ता हस्तान्तरण हुन थालेजस्तो पनि देखिएको छ ।

ज्ञवालीका लागि राष्ट्र बैङ्कको भूमिका पनि सकारात्मक नभएको ग्लोबलका उच्च अधिकृतहरु बताउँछन् । नबिल बैङ्क छाडेर ग्लोबलमा आएका ज्ञवाली केही वर्षयता खासै ‘एक्सपोज’ हुन चाहिरहेका थिएनन् । उनको राजीनामापछि ग्लोबलको नेतृत्व गर्ने जिम्मेवारी पौडेलको काँधमा आएको छ । उनलाई सञ्चालक समितिले २८ भदौमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति दियो । पौडेलको बढुवा भएपछि ग्लोबलको डेपुटी सीईओमा सुमन शर्मा आउँदै छन् । शर्मा यसअघि माछापुच्छ्रे बैङ्कमा डेपुटी सीईओ हुन् ।

सेन्चुरी बैङ्कमा पनि सञ्चालक समितिसँगको तालमेल नमिल्दा सीईओले राजीनामा दिए । सञ्चालक समितिले दोस्रो बरियताका जीवन भट्टराईलाई बढी विश्वास गरेर जिम्मेवारी दिएपछि सीईओ अनुजमणि तिमिल्सिनाले २ वर्ष कार्यकाल बाँकी छँदै बैङ्क छाडे । तर, ‘पक्षपातपूर्ण’ ढङ्गले सीईओ हटाउन लागेको आरोप खेप्नुपरेपछि सञ्चालक समितिले तिमल्सिनालाई तत्काल नहटाउने भन्दै रोक्न पनि प्रयास ग¥यो । तिमल्सिनाले आफू बैङ्कमा रहनका लागि सञ्चालक समितिसँग दुई सर्त राखे ।

स्रोतका अनुसार डेपुटी सीईओ जीवन भट्टराईलाई सञ्चालक समितिको सदस्यसचिवबाट हटाउनुपर्ने र दोस्रो बरीयतामा रहने गरी बाहिरबाट सिनियर डेपुटी सीईओ नियुक्त गर्न पाउनुपर्ने सर्त तिमल्सिनाको थियो । सञ्चालक समितिले यी दुवै सर्त स्विकारेर तिमल्सिनालाई सीईओ कायम राख्ने प्रयास गरे पनि सफल भएन । अन्ततः असोज १ गते तिमल्सिनाको राजीनामा स्वीकृति गरेर जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

पुँजीका आधारमा देशकै सबैभन्दा ठूलो विकास बैङ्क बनेको महालक्ष्मीका सीईओ मनोजकुमार भट्टराईले गत १९ भदौमा सञ्चालक समितिमा राजीनामा बुझाए । उनले आगामी १ कात्तिकदेखि लागू हुने गरी राजीनामा दिएर बिदामा बसेपछि सागर शर्मालाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ । भट्टराईले भने महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनमा ल्याउन बैङ्क छाडेको बताएका छन् । बीमा समितिले नयाँ बीमा कम्पनी सञ्चालन गर्ने अनुमति दिएपछि भट्टराईले बैङ्किङबाट बीमातर्फ ‘सिफ्ट’ गर्न लागेका हुन् । भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक छन् भने कम्पनी स्थापनाका सबै व्यवस्थापकीय दायित्व पनि उनले नै लिएका छन् ।

भट्टराईको बहिर्गमनपछि सबैभन्दा ठूलो विकास बैङ्कमा सीईओ बन्नका लागि कुमारी बैङ्कका पूर्वसीईओ उदयकृष्ण उपाध्यायदेखि कैलाश विकास बैङ्कका पूर्वसीईओ कृष्णराज लामिछानेसम्म इच्छुक देखिएका छन् । मेगा बैङ्कमा डेपुटी सीईओको जागिर छाडेर रेमिट्यान्स कम्पनी चलाइरहेका श्रीचन्द्र भट्ट र जनता बैङ्कका डेपुटी सीईओ अजय मिश्र (उनी मर्जरअघि साविकको सिद्धार्थ डेभलपमेन्ट बैङ्कको सीईओ थिए) पनि महालक्ष्मी जाने चर्चामा छन् ।

जनता बैङ्कका पूर्वसीईओ कुमार लम्साल अध्ययनका लागि अमेरिका हिँडेपछि परशुराम कुँवर क्षेत्री सीईओ बनेर आए । त्यसअघि जनतामा परामर्शदाताका रुपमा रहेका कुँवरलाई सञ्चालक समितिले नयाँ सीईओ खोज्ने जिम्मेवारी दिएको थियो । तर, उनले अर्को सीईओ खोज्न सकेनन्, बरु आफै बैङ्कको व्यवस्थापन सम्हाल्न कस्सिए ।

पछिल्लो समय बैङ्किङ क्षेत्रमा सीईओ परिवर्तन हुने क्रम ह्वात्तै बढेको छ । यसअघि पनि प्रभु, एनआईसी एसिया र एनएमबी बैङ्कले पहिलो पुस्ताका बैङ्करलाई बिदाइ गरिसकेका छन् । साना किसान विकास बैङ्कका सीईओबाट जलनकुमार शर्मा भदौमै बाहिरिएका छन् । त्यहाँ १४ भदौमा डा. शिवरामप्रसाद कोइराला नयाँ सीईओ भएका छन् ।

नयाँ पुस्ताको काँधमा जिम्मेवारी

माछापुच्छ्रे, एनएमबी, एनआईसी एसियादेखि सिभिल र सिद्धार्थसम्म नयाँ पुस्ताका सीईओ छाइसकेका छन् । त्यसअघि पनि प्रभु, लक्ष्मीजस्ता बैङ्कमा तुलनात्मक रुपले कलिला अनुहार देखिएका थिए । नयाँ पुस्ता नेतृत्वमा आउनु स्वाभाविक र सकारात्मक भएको बताउँछन् नेपाल बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना । ‘नयाँ समय र बजारअनुसार नयाँ सोचले बैङ्क चलाउँछौं भन्ने नयाँ पुस्तालाई अवसर दिनुपर्छ,’ उनले भने ।

तथापि, अहिले पनि पुराना पुस्ताका बैङ्करको चार्म घटिसकेको भने छैन । प्राइम बैङ्कमा उमेरले सात दशक नाघिसकेका नारायणदास मानन्धर सीईओ छन् । जनताले केही महिनाअघि मात्रै परशुराम कुँवरलाई भिœयाएको छ । उनी पनि पुरानै पुस्ताका हुन् । पहिलो पुस्ताका बैङ्कर शोभनदेव पन्त हालैमात्र बीओकेको सीईओ बनेका छन् । शशीन जोशी, रत्नराज वज्राचार्य, राजनसिंह भण्डारीजस्ता पुराना सीईओ अहिले पनि ठूला बैङ्कमा काम गरिरहेका छन् । एनबी बैङ्कको सञ्चालक समितिले भदौ तेस्रो सातामात्रै ज्ञानेन्द्र ढुङ्गानालाई अर्को ४ वर्ष अवधि थपिदिएको छ ।

मर्जरका कारण ठूलो जोखिम व्यवस्थापन गर्नुपर्ने अवस्थामा नयाँ मान्छेभन्दा पुराना र अनुभवी मान्छे आवश्यक पर्ने महसुस जनता र बीओकेका सञ्चालकले गरेका छन् । ‘आक्रामक बजार विस्तार गर्ने लक्ष्य बोकेका संस्थाले सीईओमा नयाँ मान्छेलाई ल्याउने गरेको देखिन्छ,’ ढुङ्गाना थप्छन्, ‘जोखिम व्यवस्थापन गर्ने, बैङ्कलाई बलियो बनाउने र स्थायित्व दिन आवश्यक छ भने पुराना मान्छे ल्याउने सोचाइ हुन सक्छ ।’
बढ्दो टर्नओभर

बाफियाले एउटा बैङ्कमा एकजना व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था ग¥यो । सुशासनको सवाललाई लिएर गरिएको त्यस्तो व्यवस्थाले कानुन लागू भइसकेपछि नियुक्त भएका सीईओको हकमा मात्रै कार्यकालको सीमा लगाउँछ । तर, यो व्यवस्थाले समग्र बैङ्करको मानसिकतामा ‘हिट’ गरिदिएको छ । सुशासनसँगै कार्यशैली, बैङ्कका संस्थागत प्राथमिकता, कार्यदक्षता, सेवासुविधालगायत कुराले असर गरेको बैङ्करहरुको भनाइ छ ।

लामो अवधिसम्म बैङ्कमा रहिसकेका धेरै सीईओ स्वाभाविक रुपमा संस्था परिवर्तन गर्ने र केही भने अवकाश लिने मनस्थितिमा पुगेका छन् । यसले सीईओ परिवर्तनको सिलसिला बढाएको बैङ्करहरु बताउँछन् । ‘कानुनले दुई कार्यकालको सीमा लगाइदिएका कारण त्यसपछि के गर्ने भन्ने अन्योल पनि बढाएको छ,’ लक्ष्मी बैङ्कका सीईओ सुदेश खालिङ भन्छन्, ‘यसले केही मान्छे भिन्न पेसामा करिअर बनाउन चाहेको र कतिपयले राम्रो अवसरको खोजीमा बैङ्क छाडेको देखिन्छ ।’ तर पनि जागिर छाड्ने भित्री कारण बैङ्करहरु खोल्न चाहँदैनन् । ‘कतिपय बैङ्कर राम्रो अवसरको खोजीमा संस्था परिवर्तन गर्छन्,’ ढुङ्गाना भन्छन्, ‘त्यसबाहेक काम गर्ने वातावरण, संस्थागत सम्बन्धजस्ता कुराले भूमिका खेल्छ ।’

सञ्चालक हाबी

राष्ट्र बैङ्कका उच्च अधिकारीहरुले हरेकजसो सार्वजनिक मञ्चबाट बैङ्क सञ्चालकहरुलाई एउटै सुझाव दिइरहेका हुन्छन्– ‘सीईओलाई दबाब नदिनू ।’ बैङ्कको व्यवस्थापनमाथि सञ्चालक हाबी नहोऊन् भनेर केन्द्रीय बैङ्कले सञ्चालकलाई तालिम दिनेदेखि संस्थागत सुशासनका नीतिगत व्यवस्थाहरु गर्नेसम्मका काम गरेको छ । तर पनि कतिपय बैङ्क सञ्चालकले आफूअनुकूलको निर्णय गर्न सजिलो परोस् भनेर नयाँ मान्छेलाई सीईओ बनाउन रुचाउँछन् ।

यद्यपि, ‘प्रोफेसनल बैङ्कर’ले सञ्चालकले जे भन्यो, त्यही गरेर आफ्नो करिअर नै दाउमा राख्ने अवस्था अहिले नभएको बैङ्करहरु दाबी गर्छन् । ‘नीतिनियम, कानुन र प्रणाली सबै बलियो भएको छ । अब पहिलेजस्तो सञ्चालकहरुको गलत निर्देशनलाई मान्नुपर्छ भन्ने छैन र मान्छन् भन्ने पनि लाग्दैन,’ ढुङ्गाना भन्छन्, ‘तर, सञ्चालकहरुले आफ्नो विश्वासपात्रलाई अघि सार्न खोज्नु स्वाभाविक हो ।’ त्यसले संस्थाको व्यवसायिकतामाथि ठूलो बाधा सिर्जना गर्न नसक्ने उनी बताउँछन् ।