गृहमन्त्री थापाले भने, ‘अब जेल बस्ने पालो ट्रक व्यवसायीको’

सरकारलाई घुँडा टेकाउने दिन सकिए

- क्यापिटल नेपाल

२३ बैशाख २०७५, आईतवार १९:४०
गृहमन्त्री थापाले भने, ‘अब जेल बस्ने पालो ट्रक व्यवसायीको’

‘सिन्डिकेट लादेर अहिलेसम्म जति कमाउनु कमाइसके, अब स्थायी सरकार आएको छ । त्यसरी कमाउछु, राज्यलाई घुँडा टेकाउँछु भनेर नसोचे पनि हुन्छ,’ व्यवसायीलाई चेतावनी दिँदै भने, ‘सरकार भनेको के हो ? भन्ने अब थाहा हुन्छ ।’

सार्वजनिक यातायातको सिन्डिकेट तोडेको सरकारले अब ट्रक व्यवसायमा भएको एकाधिकार पनि अन्त्य गर्ने भएको छ । सरकारले सार्वजनिक यातायातको सिन्डिकेट पूर्ण रुपमा सफल बनाउने र ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घको सिन्डिकेट पनि निर्मुल पार्ने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

‘सार्वजनिक यातायातबाट सुरु गरेका छौं,’ गृहमन्त्री थापाले भने, ‘ट्रक व्यवसायीदेखि बैङ्करहरुको सिन्डिकेटसम्म अन्त्य हुन्छ ।’ व्यवसायीले सिन्डिकेटको भरमा व्यवसाय चलाउने दिनको अन्त्य भएको बताए ।

‘सिन्डिकेट लादेर अहिलेसम्म जति कमाउनु कमाइसके, अब स्थायी सरकार आएको छ । त्यसरी कमाउछु, राज्यलाई घुँडा टेकाउँछु भनेर नसोचे पनि हुन्छ,’ व्यवसायीलाई चेतावनी दिँदै भने, ‘सरकार भनेको के हो ? भन्ने अब थाहा हुन्छ ।’

उनले सार्वजनिक यातायातमा जस्तै ट्रक तथा कन्टेनर व्यवसायमा ठूलो सिन्डिकेट भएको बताए । ‘मनलाग्दी रुपमा भाडा तोक्ने, गैरकानुनी रुपमा टोकनको पैसा लिने, टोकन बेच्ने, क्यू निर्धारण गर्ने, जथाभावि रुपमा काटा राखेर पैसा असुल्नेलाई सरकारले छाड्दैन्,’ उनले ट्रक व्यवसायीलाई लक्षित गर्दै भने, ‘सार्वजनिक यातायात व्यवसायीले पनि सरकारलाई घुडा टेकाउँछु भनेर आन्दोलन गरेको थिए, तर आज लुरुक्क परेर सिन्डिकेट खारेजमा सहयोग पु¥याउँछु भनेर गएका छन्, ट्रकवालहरुले पनि बेलैमा बुद्धि पु¥याए हुन्छ ।’

सरकार कारबाही प्रक्रियाबाट पछाडि नहट्ने । बरु झन आक्रामक बन्दै जाने बताए । ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शिक्षा, स्वास्थ्य, बैङ्कलगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न सरकार अग्रसर भएको बताए ।

खासगरी, औद्योगिक नगरीमा सञ्चालन हुने ट्रक तथा कन्टेनरले मनलाग्दी भाडा तय गरेर व्यवसायीलाई हैरान पारेका छन् । सबै ट्रकवाला एकजुट हुने र बिनाआधार जथाभावी मूल्य निर्धारण गर्दा व्यवसायी मर्कामा परेका छन् ।

ट्रक व्यवसायीले यतिसम्म सिन्डिकेट लादेका छन् कि लोड गरेर आएको ट्रकमा के कति सामान छ भनेर जोख्नका लागि बाटो–बाटोमा काटा राखेका छन् । जब कि ट्रकले कति तौलबराबरको सामान लिएर आएको छ भनेर चेकजाँच गर्न सरकारले त्यस्ता काम गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका एक सदस्यले जानकारी दिए ।

नेपाल ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घले सिन्डिकेट लादेर अर्बौै रुपैयाँ कुम्ल्याउँदै आएका छन् । महासङ्घले आफ्नो सदस्य नभएका ट्रकलाई सामान बोक्नबाट रोक्ने, बिनाआधार जोर÷बिजोर लगाउने, टोकन बेचेबापत प्रतिट्रकबाट २ सय ५० रुपैयाँ लिने, महासङ्घले खडा गरेको काँटामा ट्रक जोखेबापत १ सय ५० रुपैयाँ लिने गरेको छ । यो सबै काम गैरकानुनी हो ।

सरकार सिन्डिकेटविरुद्ध आक्रामक बन्दै गएपछि ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घले ट्रकको भाडा २६ हजार रुपैयाँबाट २१ हजारमा ल्याएका छन् । त्यसैगरी, यसअघि क्युमा बसेर टोकन लिनुपर्ने बाध्यता हटे पनि टोकन लिनुपर्छ ।

विभागका महानिर्देशक रूप नारायण भट्टराईले ट्रकको सिन्डिकेटको जालो पनि चौतर्फी रहेकाले सार्वजनिक यातायातको सिन्डिकेट सकिने वित्तिकै ट्रकमाथि ‘अपरेसन’ सुरु हुने बताए । ‘विभागले यसअघि नै व्यवसायीलाई बोलाएर आफू सुध्रिएर आउन आग्रह गरिसकेको छ,’ उनले भने, ‘तर, अटेर गरेर बसे भने सार्वजनिक यातायातको भन्दा बढी बेहाल हुन्छ ।’

बुटवलका यातायात व्यवसायी अर्जुन रानाभाट ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घका अध्यक्ष हुन् । महासङ्घअन्तर्गत करिब ४८ हजार ट्रक तथा कन्टेनर व्यवसायी आबद्ध छन् । अध्यक्ष रानाभाटले नै क्यु, टोकन, जोरबिजोर, काँटा प्रयोग गरेबापत विभिन्न शुल्क लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्