शशाङ्क कोइरालालाई ‘लोकल पार्टनर’ बनाएर नेपाल भित्रिँदै अमूल

नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाई ‘लोकल पार्टनर’ बनाएर भारतको सबैभन्दा ठूलो डेरी उद्योग अमूल नेपाल भित्रिँदै छ । वार्षिक ४० हजार करोडको कारोबार गर्दै आएको अमूलमा नेपाली पार्टनर कोइरालाको ५१ र अमूलको ४९ प्रतिशत सेयर रहने गरी नेपाल प्रवेश गर्न लागेको हो । काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाकाे आडमा अमूलले भारतबाट दूध ल्याएर नेपालमा विक्री गर्ने योजना पनि बनाएको...

नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाई ‘लोकल पार्टनर’ बनाएर भारतको सबैभन्दा ठूलो डेरी उद्योग अमूल नेपाल भित्रिँदै छ । वार्षिक ४० हजार करोडको कारोबार गर्दै आएको अमूलमा नेपाली पार्टनर कोइरालाको ५१ र अमूलको ४९ प्रतिशत सेयर रहने गरी नेपाल प्रवेश गर्न लागेको हो ।

काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाकाे आडमा अमूलले भारतबाट दूध ल्याएर नेपालमा विक्री गर्ने योजना पनि बनाएको छ । रोजगारी सिर्जना गर्ने तथा स्थानीय कृषकलाई प्रोत्साहन गर्ने बताए पनि अमूलको भित्री योजना अर्कै रहेको हो ।

स्रोतका अनुसार अमूलले नेपाली किसानले उत्पादन गरेको दूध नलिएर भारतबाट ल्याएर नेपालमा बेच्ने प्रमुख योजना बनाइरहेको छ । ‘भारतमा नेपालको भन्दा प्रतिलिटर तीनदेखि चार रुपैयाँ सस्तो मूल्यमा दूध पाइन्छ,’ कृषि मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले भारतीय दूध नेपाल ल्यार्इ दुग्धजन्य पदार्थ बनाएर बेच्ने अमूलकाे भित्री योजना हो ।’

भारत सरकारले किसानलाई मनग्गे अनुदान दिएकाले ठूलो परिमाणमा दूध उत्पादन भइरहेको छ । त्यही दूध नेपाल ल्याएर बजारीकरण गर्ने अमूलको प्रमुख योजना भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारतमा एकछत्र राज गरेको अमूल नेपाल आउँदा नेपालमा सञ्चालित डेरी उद्योग धरासायी हुने मात्र नभई अर्बौ रुपैयाँ लगानी समेत जोखिममा पर्ने र लाखौं किसान अलपत्र हुने सम्भावना बढेको छ ।

राजनीतिक कर्मीलाई लोकल पार्टनर बनाएर नेपाल प्रवेश गर्दा आफ्नो लगानी सुरक्षित हुने भएपछि नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कोइरालालाई छानेको हो । कोइरालालाई लोकल पार्टनर बनाएपछि भारतीय बजारमा उत्पादित दूध सहजै नेपाल प्रवेश गराउन र यहाँकाे बजार उपयोग गर्न सकिन्छ भन्ने विश्वासले अमूलले याे रणानीति लिएकाे हाे ।

काङ्ग्रेस नेता कोइरालाले भने नेपालमा अमूलले प्राविधिक सहयोग मात्रै गर्ने भन्दै बचाउ गरे । ‘अमूलले नेपालमा उद्योग लगाउँदैन,’ उनले भने, ‘तर, प्राधिविक सहयोग गर्छ ।’ अमूलको नेपाल पार्टनरमा तपाईंको नाम आएको छ नि भन्ने प्रश्नमा उनी केही बोल्न मानेनन् । ‘अमूल नेपाल आउँदा राम्रो हुन्छ,’ उनले भने, ‘ठुल्ठूला डेरी नेपाल आउँदा व्यावसायिक कृषि बढेर जान्छ ।’

अमूलले नवलपरासीमा उद्योग स्थापना गर्न आन्तरिक गृहकार्य सुरु गरेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । अमूलका चेयरम्यान रामसिंह परमार तीन पटकभन्दा बढी नेपाल आइसकेका छन् । डेरी व्यवसायीका अनुसार यदि अमूलको प्रवेशमा रोक नलगाउने हो भने एक महिनाभित्र नेपालका सम्पूर्ण उद्योग बन्द हुन्छन् । अमूल एकदमै ठूलो डेरी उद्योग हुनुका साथै घाटा खाएर भए पनि सस्तो मूल्यमा सामान बेच्न सक्ने कम्पनी हो । अमूलका पछाडि भारत सरकार छ ।

अमूलले भारतीय बजारको दूध नेपाल ल्याउनकै लागि नवलपरासीमा उद्योग स्थापना गर्न लागेको हो । भारतमा ठूलो परिमाणमा दूध उत्पादन भइरहेको छ । त्यहाँका किसानलाई भारत सरकारले विभिन्न सहुलियत दिएकाले ठूलो परिमाणमा दूध उत्पादन भएको र सो दूधको मार्केट नेपाल बनाउन अमूल लागिपरेको हाे ।  व्यवसायीका अनुसार पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध छ । सरकारले डेरी उद्योगमा पनि वैदेशिक लगानी रोक्नु पर्ने व्यवसायी बताउँछन् ।

दूध तथा दुग्धजन्य पदार्थमा नेपाल ८० प्रतिशत आत्मनिर्भर भइसकेको छ । अहिले नेपाली डेरी उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् । यी उद्योगलार्इ ८० प्रतिशत क्षमतामा सञ्चालन गर्ने हो भने नेपाल दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने उनीहरुको भनाइ छ ।

यस्तो अवस्थामा नेपालमा डेरी क्षेत्रमा वैदेशिक लगानीको आवश्यकता नरहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालमा डेरी क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको र यस क्षेत्रमा आउने वैदेशिक लगानी रोक्न आग्रह समेत गरेको छ ।